राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनको आयातनिर्यात बैंकले ऋण उपलब्ध गराएको छ । बैंकले अर्थ मन्त्रालयलाई एक पत्रमार्फत ऋण स्वीकृत भएको जानकारी गराएको हो । २१ अर्ब ४७ करोड लागत रहेको सो आयोजनाको यही जेठ १७ गते बुधबार ऋण स्वीकृत भएर आएको हो । त्यसमा ७५ प्रतिशत ऋण हो भने २५ प्रतिशत अनुदान हो । अर्थ मन्त्रालयले चीनको आयातनिर्यात बैंकसँग दुई प्रतिशत ब्याज दरमा लिएको हो ।
विमानस्थलको २०७३ वैशाख १ गते प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । ऋण अनुमोदन भएको चार वर्षभित्र विमानस्थल निर्माण सक्नुपर्ने भएकाले अव भौतिक पूर्वाधार निर्माण प्रक्रियाले गतिलिने विश्वास लिइएको छ । विमानस्थल निर्माण गर्न ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको छ । चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले सो विमानस्थल निर्माण गर्नेछ ।


