Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लक्ष्य पूरा गर्न दैनिक पौने ४ अर्ब खर्चिनुपर्ने

२०७४ जेष्ठ २३ गते

निरु अर्याल-चालू आर्थिक वर्षमा पुँजीगत खर्चको लक्ष्य पूरा गर्न दैनिक ३ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालू आवको ११ महिना सकिनलाग्दा आइतबारसम्म जम्मा ३५।५२ प्रतिशत अर्थात १ खर्र्ब १० अर्ब रुपैयाँ मात्रै पुँजीगत बजेट खर्च भएको छ । सरकारले समयमै बजेट ल्याएर प्रभावकारी कार्यान्वयन गर्ने बताए पनि विकासे मन्त्रालयहरूले समयमै बजेट खर्च नसक्दा पुँजीगत खर्चको अवस्था नाजुक देखिएको हो । चालू आवको असारसम्म ८४ प्रतिशत पुँजीगत बजेट खर्च गर्ने सरकारको लक्ष्य छ । सरकारको यो लक्ष्य पूरा गर्न दैनिक ३ अर्ब ६८ करोड खर्च गर्नुपर्ने हुन्छ । 

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले विगतका वर्षको तुलनामा चालू आवमा पुँजीगत खर्चमा उल्लेख्य वृद्धि भएको बताए । “निर्वाचनका कारण पछिल्लो दुई महिनामा पुँजीगत खर्चमा केही सुस्तता देखिए पनि आर्थिक वर्षको अन्तिमसम्म कुल पुँजीगत बजेटको ८४ प्रतिशत हुने अपेक्षा छ,” उनले भने । चालू आवमा पुँजीगत खर्चका लागि सरकारले बजेटमार्फत ३ खर्ब ११ अर्ब रुपैयाँ छुट्याएको छ ।  “सरकारी खर्च अपेक्षित रूपमा बढ्न सकेको छैन तर विगतका खर्चको तुलनामा चालू आवको पुँजीगत खर्चमा उल्लेख वृद्धि भएको छ,” उनले भने । उनले सरकारी खर्चमा सुस्तता देखिए पनि पछिल्ला सूचकांकले पुँजीगत खर्च बढ्ने दावी गरे । बजेट खर्च गर्ने परम्परागत शैलीका कारण सोचेजस्तो खर्च हुन नसकेको महसुस गर्दै सरकारले आगामी आवदेखि प्रक्रियागत झन्झटलाई सहज बनाएको जनाएको छ । बजेट सूचना प्रणाली ९एलएमबीआईएस०मार्फत आएका कार्यक्रमलाई सिधै अख्तियारी दिइएको र प्रक्रियागत झन्झटलाई सहज बनाउन कार्यविधि नै तयार भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

आगामी आवका लागि सरकारले पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार अर्थात २६।२ प्रतिशत बजेट विनियोजन गरेको छ । महराले वर्षको अन्तिममा खर्च गर्ने परिपाटी रहेकाले असार मसान्तसम्म ८४ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको बताए । मन्त्रालयका अनुसार बजेट खर्च भइसके पनि भुक्तानी लिन र दिन ढिलो हुँदा खर्च परिमाण कम देखिएको हो ।  सरकारले चालू आवका लागि नियमित समयभन्दा ४५ दिन पहिले नै १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । अर्थ मन्त्रालयले खर्च गर्ने शैली पुरानै देखिएको भन्दै समयमै काम सुरु गर्न सबै मन्त्रालयलाई परिपत्र गर्दै आएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार आइतबारसम्म कुल बजेटको ५३ प्रतिशत मात्रै खर्च भएको छ । (कारोबार दैनिकमा प्रकाशित समाचार)