Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कर्जा सुरक्षणमा वित्तीय संस्था उदासिन, लगानी जोखिममा पर्ने संकेत

२०७४ जेष्ठ २२ गते

मुना कुँवर । बैंक तथा वित्तीय संस्थाले गरेको लगानी जोखिममा पर्ने देखिएको छ । कर्जा सुरक्षणमा वित्तीय संस्थाहरूले उदासीनता देखाएपछि कर्जासंकट पर्ने देखिएको हो । 

अर्थमन्त्रालयको तथ्यांकअनुसार वित्तीय संस्थाले लगानी गरेका १ लाख २७ हजार ५९ वटा कर्जाको मात्रै कर्जा तथा निक्षेप सुरक्षण निगममा सुरक्षण गरिएको छ । यो संख्या कुल कर्जा संख्याको जम्मा ११ प्रतिशत हो । मन्त्रालयको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा संख्या ११ लाख ५६ हजार ८ सय ४१ छ ।

३९ वटा वित्तीय संस्थाले ७ अर्ब २३ करोडको रुपैयाँबराबरको सुरक्षण गरेका छन् । गत आवको सोही अवधिमा भने ५५ वटा वित्तीय संस्थाले ७५ हजार ९ सय ४९ कर्जा संख्याबराबर ३ अर्ब ३६ करोड रुपैयाँको सुरक्षण गराएका थिए । 

त्यस्तै, वित्तीय संस्थामा रहेको कुल निक्षेप संख्या ८३ मात्रै सुरक्षण भएको छ । करिब १७ प्रतिशत निक्षेप अझै पनि सुरक्षणबाहिर रहेका छन् । चालू आवको फागुनसम्ममा १ करोड ५१ लाख ३६ हजार ८ सय २६ वटा निक्षेपको सुरक्षण भएको छ ।

अर्थमन्त्रालयका अनुसार उक्त अवधिमा कुल निक्षेप संख्या १ करोड ८२ लाख ६ हजार ७ सय २४ निक्षेप संख्या छ । उक्त अवधिमा १ सय २० वटा वित्तीय संस्थाले ३ खर्ब ६५ अर्ब ४९ करोड रुपैयाँको निक्षेपको सुरक्षण गराएका छन् । गत आवको सोही अवधिमा भने १ सय ५० वित्तीय संस्थाले १ करोड ३६ लाख ६ हजार ४ सय ८३ निक्षेपबराबर ३ खर्ब १८ अर्ब ३५ करोड रुपैयाँको सुरक्षण गराएका छन् । 

तथ्यांकमा प्रतिवर्ष निक्षेप र कर्जा सुरक्षणको दर घटेको देखिए पनि वास्तविकतामा सुरक्षणको दर नघटेको कर्जा तथा सुरक्षण निगममा प्रवक्ता विष्णुबाबु मिश्रले बताए । “वित्तीय संस्था एकआपसमा मर्ज भएकाले यो संख्यामा कमी देखिएको हो,” उनले भने । 

निगमले वित्तीय संस्थाले संकलन गर्दै आएको निक्षेप तथा विभिन्न खालका कर्जाको सुरक्षण गर्दै आएको छ । कोषले कृषि कर्जा, पशुधन कर्जा, साना तथा मझौला उद्योग र लघुवित्त तथा विपन्न वर्ग कर्जाको सुरक्षण गर्दै आएको छ ।

सामान्य निक्षेपकर्ता तथा ऋणीहरूको लगानी सुरक्षित होस् भन्ने हेतुले कोषले यस्तो सुरक्षणको व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंककोे निर्देशनअनुसार क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको २ लाखसम्मको निक्षेप सुरक्षण गर्नुपर्ने व्यवस्था छ । कारोबार दैनिकबाट साभार गरिएको