बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप एण्ड कम्पनी (सिजिजिसी)बीच प्रारम्भिक सम्झौतापत्रमा (एमओयू)मा हस्ताक्षर भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउन सरकारका तर्फबाट भएको यो नै पहिलो सम्झौतामा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा ऊर्जामन्त्री जनार्दन शर्मा र सिजिजिसीका प्रतिनिधिबीच दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । कुल एक हजार २०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भइसकेको छ । करीब रू. तीन खर्ब लाग्ने सो आयोजनाको सम्पूर्ण लगानी चिनियाँ कम्पनीले गर्ने र निर्माण सम्पन्न भएपछि आयोजना सरकारलाई हस्तान्तरण गरिनेछ ।
ऊर्जामन्त्री शर्माले नेपालको इतिहासमा नै पहिलो पटक ठूलो आयोजना अगाडि बढाउने विषयमा हस्ताक्षर भएको बताए । आयोजनाले चालू आवमा रू. १५ अर्ब मुआब्जा वितरण गर्नेछ । नेपाल आयल निगमले भन्सार बिन्दुमा नै प्रतिलिटर रू. पाँच पूर्वाधार करमार्फत उठाएको रकम रू. नौ अर्ब बढी पुगिसकेको छ । यस्तै सरकारले रू. पाँच अर्ब मुआब्जा वितरणका लागि छुट्याइएको छ । हस्ताक्षर समारोहमा ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपालका लागि चिनियाँ राजदूत यू होङलगायतको उपस्थिति रहेको थियो । रासस


