२०७३ बैशाख २ गते

०७२ मा बिमा क्षेत्रको उपलब्धी : बिमाको महत्वबारे चेतना

insuranceदाबी भुक्तानीको आधारमा बिमा क्षेत्रको लागि २०७२ साल ऐतिहासिक रह्यो । निर्जीवन बिमा कम्पनीले मात्रै अहिलेसम्म १० अर्ब २० करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । एकै वर्षमा नेपाली बिमा क्षेत्रले गरेको दाबी भुक्तानी पनि अहिलेसम्मकै ठूलो हो । दायित्व भुक्तानीको आधारमा हेर्दा भने ०७२ सालमा नेपाली बिमा क्षेत्रले ठूलो धक्का महसुस ग¥यो । वर्षको सुरुमै आएको विनाशकारी भूकम्पको कारण बिमा कम्पनीले क्षतिपूर्ति दिनुपर्ने भन्दै १८ अर्ब ५८ करोड २६ लाख रुपैयाँ दाबी परेको छ । नेपालको बिमा इतिहासमा एकैपटक यति धेरै दाबी भएको यो नै पहिलो हो ।

विमा क्षेत्रका लागि सिकाइको वर्ष
यस वर्ष बिमा चेनता बढाउनका लागि निकै फलदायी रह्यो । बीमा कम्पनिहरुले दाबी परेका बेलामा सहजै भुक्तानी दिन्छन् कि दिँदैनन्, वा दाबी भुक्तानी गर्ने समयमा कुन पुनर्बिमा कम्पनीको व्यवहार कस्तो हुने गरेको छ भनेर थाहा पाउने अवसर पनि बिमा कम्पनीले प्राप्त गरे । बिमा गर्नेले पनि एकैपटक ठूलो मात्रामा दाबी भुक्तानी गर्नुपर्दा नेपाली बिमा कम्पनीले गर्न सक्छन् कि सक्दैनन् भनेर मूल्यांकन गर्ने अवसर पाए । सँगै घर भत्किएकामध्ये बिमा गराएको व्यक्तिले दाबी भुक्तानी लिएर घर बनाइसक्यो । बिमा नगराउनेले पैसाको जोहो गर्न नसकेकाले अझै घर बनाउन सकेका छैनन् । यसकारण, बिमा गराउँदा आपतको बेलामा सहयोग पाइने रहेछ भन्ने ज्ञान आममानिसले पाए । यसकारण, यस वर्ष बिमा क्षेत्रका लागि सिकाइको वर्ष रह्यो ।

अहिलेसम्ममा साढे १० अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेका भए पनि बिमा कम्पनीको व्यालेन्ससिटमा त्यसको प्रभाव देखिएको छैन । वार्षिक साधारणसभा गरिसकेकामध्ये अधिकांश बिमा कम्पनीले सेयरधनीलाई लाभांश दिएका छन् । ठूलो मात्रामा दाबी भुक्तानी गर्नुपर्ने भएकाले समस्या देखिन सक्ने भन्दै बिमा समितिले कम्पनीलाई नगद लाभांश वितरणमा कडाइ गरेको थियो । 

गत वर्ष मात्रै नेपालमा पुनर्बिमा कम्पनी स्थापना भयो । द्वन्द्वको समयमा गठन गरिएको आकस्मिक बिमा कोषलाई नै पुनर्बिमा कम्पनी बनाइएको हो । बिमा कम्पनीले सो कोषमा गरेको लगानीलाई पुनर्बिमा कम्पनी परिणत भएपछि सेयर पुँजीमा गणना गरियो । पुनर्बिमा कम्पनीले नाफा ग¥यो । कम्पनीले सो रकमलाई लगानीमा गणना गर्न पाए र त्यसबाट प्राप्त लाभांशलाई आम्दानीमा गणना गर्न पाए । यसैकारण, बिमा कम्पनीको नाफा बढेको देखियो । बिमा कम्पनीको ब्यालेन्ससिटमा नकारात्मक प्रभाव परेको देखिएन ।

नेपाली बिमा कम्पनीले विदेशका विभिन्न कम्पनीसँग पुनर्बिमा गराउँछन् । चैतको तेस्रो सातासम्ममा पुनर्बिमा कम्पनीबाट ५ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गर्नका लागि नेपाली बिमा कम्पनीले प्राप्त गरिसकेका छन् ।