काभ्रेः बैंक खाता विवरण समयमै उपलब्ध नगराउँदा जिल्लाको दुई नगरपालिकामा दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण हुनसकेको छैन । खाता विवरण उपलब्ध नगराएकै कारण मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता निकासा रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्लामा ६ नगरपालिका र ७ वटा गाउँपालिका छन् ।
झण्डै ४५ दिनअघि सम्बन्धित सबै स्थानीय तहका कार्यकारी अधिकृतलाई बैंक खाता विवरण उपलब्ध गराउन निर्देशन दिए पनि अझै आइनपुगेको जिल्ला समन्वय समितिका लेखा अधिकृत खुमलाल भुसालले बताए । “खाता विवरण उपलब्ध नगराएकै कारण ढिला भएको हो,” उनले भने, “खाता विवरण आउने बित्तिकै रकम निकासा दिन हामी तयारी अवस्थामा छौँ ।”
आइतबार मात्रै महाभारत, खानीखोला र सल्लेभुम्लु गाउँपालिकाको खातामा रकम निकासा पठाइएको छ । पनौती, बनेपा, धुलिखेल र नमोबुद्ध नगरपालिकाको बैंक खातामा रकम गइसकेको भुसालले बताए । त्यस्तै बेथानचोक, तेमाल, चौरीदेउराली र रोसी गाउँपालिकाको खातामा पनि रकम निकासा गइसकेको छ । “निकासा गइसकेका स्थानीय तहमा भत्ता वितरण सुरु भइसकेको छ,” उनले भने, “रकम निकासा नलिएका दुई नगरपालिकालाई पनि ताकेता गरिरहेका छौं ।”
पाँचखाल नगरपालिकाले अझै खाता खोलिनसकेको कार्यकारी अधिकृत विष्णुकुमारी भट्टराईले बताइन् । “हामीले अझै खाता खोलिसकेका छैनौं,” उनले भनिन्, “प्रक्रियाअघि बढाएका छौं, अब छिट्टै सञ्चालनमा आउँछ ।” पाँचखाल नगरपालिकाले दोस्रो चौमासिकदेखिको सामाजिक सुरक्षा भत्ताका लागि बैंकिङ प्रणाली अपनाएको छ । नगरपालिकाले भत्ता पाउने सेवाग्राहीलाई खाता खोल्न भनेको छ ।
मण्डनदेउपुर नगरपालिकाका नवनिर्वा्चित नगरप्रमुख टोकबहादुर वाईबाले खाता नखोलिएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिएको भन्दै तत्काल खाता सञ्चालनमा ल्याउन आफूले कार्यकारी अधिकृतलाई निर्देशन दिइसकेको बताए । “सरकारी बैंक नभएका कारण खाता खोल्न समस्या आएको मैले पाएको छु,” उनले भने, “वृद्धवृद्धाको भत्ता नरोक्न तत्काल खाता खोलेर काम अघि बढ्छ ।”
जिल्लामा सामाजिक सुरक्षा भत्तातर्फ करिब १४ करोड रकम वितरण हुँदै आएको छ । जिल्लामा जेष्ठ नागरिक ११ हजार ७११, ६० वर्षमाथिका दलित ८४२, एकल र विधवा महिला ६ हजार ९६० र आंशिक अशक्त ७७८, पूर्णअशक्त ४५६, ५ वर्षमुनिका दलित बालबालिका १ हजार ३३६ र औषधि उपचारवापत ७० वर्षमाथिका १२ हजार ३६४ जना रहेका छन् ।
३४ हजार ४४७ जनाको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता रोकिएको छ । फागुन महिनाको दोस्रो सातामा नै वितरण गर्नुपर्ने भए पनि तत्कालीन गाविस सचिवहरूले पहिलो चौमासिक फस्र्योट नगरेका कारण रकम निकासा हुन सकेको थिएन ।
जिल्ला समन्वय समितिको सामाजिक सुरक्षा शाखाले फागुन २७ गते नै लेखा शाखालाई भत्ता वितरणका लागि विवरण उपलब्ध गराए पनि स्थानीय संरचनासँगै बैंक खाता सञ्चालनमा समस्या आएपछि भत्ता वितरणमा ढिलाइ भएको हो । समयमै सामाजिक सुरक्षा भत्ताको रकम वितरण नहुँदा वृद्धवृद्धा समस्यामा परेका छन् । कारोबार दैनिकबाट साभार गरिएको




