Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बीमा कोषमा ठूलो रकम थुप्रियो

२०७४ जेष्ठ १४ गते

जीवन बिमा कम्पनीहरूको बिमाकोषमा ठूलो रकम थुप्रिएको छ । लगानीको उपयुक्त क्षेत्र नभेटिंदा कम्पनीको बिमाकोषमा रकम थुप्रिदै गएको हो । चालू आर्थिक वर्ष ०७३(७४ को तेस्रो त्रैमास अवधिसम्ममा नौ जीवन बिमा कम्पनीहरूको बिमा कोष औसत २७ दशमलव ५३ प्रतिशतले बढेको छ ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीहरूको बिमाकोषमा १ खर्ब २७ अर्ब रुपैयाँ थुप्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २३ दशमलव ६४ प्रतिशतले बढी हो । जीवन बिमा कम्पनीहरूले आर्जन गरेको बिमाशुल्कबाट आवश्यक खर्च कटौती गरी बाँकी रहेको रकम बिमाकोषमा जम्मा गरिन्छ ।

कोषमा रहेको रकम लगानी गरी प्राप्त आम्दानीबाट कम्पनीले बिमितहरूलाई बोनस वितरण गर्छ । तर, कम्पनीहरूले लगानीको लागि उपयुक्त क्षेत्र नभेटिँदा रकम बिमा कोषमा थुप्रिएको बिमकहरूले बताउँदै आएका छन् । त्यसैले कम्पनीहरूले अधिकांश रकम बैंक वित्तीय संस्थाको निक्षेप लगानी गर्दै आएका छन् ।

उसो त बिमा समितिले लगानीका लागि विभिन्न क्षेत्रहरू तोकिदिएको छ । उक्त क्षेत्रमा लगानी गर्ने निश्चित प्रतिशत पनि तोकेको छ । तर, वित्तीय संस्थाको निक्षेपमा रकम सुरक्षित हुने भएकाले कम्पनीहरू आकर्षित भएको पाइन्छ । 

समीक्षा अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा कोषमा ३७ अर्ब १८ करोड रुपैयाँ थुप्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब २९ प्रतिशतले बढी हो । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसनको बिमाकोषमा ३१ अर्ब ८९ लाख रुपैयाँको जम्मा भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।

त्यस्तै, चालू आवको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बिमाकोष उच्चदरले बढेको छ । उक्त अवधिसम्ममा कम्पनीको बिमाकोषमा २ अर्ब १४ करोड रुपैयाँ थुप्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतले बढी हो । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बिमाकोष पनि ४० प्रतिशतले बढेको छ ।

चालू आवको चैत्र मसान्तसम्ममा कम्पनीहरूको व्यवसाय भने औसत २७ प्रतिशतले बढेको छ । कम्पनीहरूको वित्तीय विवरणअनुसार ८ जीवन बिमा कम्पनीहरूले २३ अर्ब ८८ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । यो रकम गत आवको सोही अवधिमा भने कम्पनीहरूले १८ अर्ब ७९ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए । 

कम्पनीहरूको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बिमाशुल्क आर्जन गर्न सफल भएको छ । रकमको आधारमा कम्पनीले सबैभन्दा धेरै बिमाशुल्क आर्जन गरेको छ । कम्पनीले उक्त अवधिमा ७ अर्ब ९४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा करिब २५ प्रतिशतले बढी हो । त्यस्तै सो अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले ५ अर्ब ९४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

यो रकम गत आवको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । तर, बिमाशुल्क वृद्धिको आधारमा हेर्ने हो भने नेसनल लाइफ, गुराँस लाइफ, सूर्या लाइफ अग्रपंक्तिमा छन् । गत आवको सोही अवधिको तुलनामा कम्पनीहरूको बिमाशुल्क आर्जन ३३ प्रतिशतले बढेको छ । सबैभन्दा कम वृद्धि गर्नेमा एसियन लाइफ इन्स्योरेन्स छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीको बिमाशुल्क आर्जन १५ प्रतिशतले मात्रै बढेको छ । त्यस्तै, आठ जीवन बिमा कम्पनीहरूमा तेस्रो त्रैमास अवधिसम्ममा ४०  लाख ४२ हजार १२७ बिमालेख कायम छ । गत आवको सोही अवधिमा भने कम्पनीहरूले ३७ लाख ९६ हजार ९०४ बिमालेख कायम थियो ।

यो संख्या चालू आवको तुलनामा करिब साढे ६ प्रतिशतले कम हो । उक्त अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० लाख २४ हजार ६४२ बिमालेख कायम छ । यो संख्या कुल बिमालेखको २५ प्रतिशत हो । कारोबार दैनिकबाट साभार गरिएको