Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्राधिकरण मातहतका दश जलविद्युत् आयोजनामा सञ्चालक तोकिए

२०७४ जेष्ठ ५ गते

नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश वटा कम्पनीको सञ्चालक तोकेको छ । जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा सञ्चालक ताकिएको हो । प्राधिकरणले आठ वटा जलविद्युत् आयोजनाका लागि छुट्टा–छुट्टै सञ्चालक तोकेको छ भने प्राधिकरणकै मातहत रहने गरी स्थापना भएको जलविद्युत कम्पनी, नेपाल इन्जिनियरिङ परामर्श तथा नेपाल पावर ट्रेडिङ कम्पनीका सञ्चालक तोकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

उनले प्राधिकरणमा नै कार्यरत उच्च तहका कर्मचारीलाई पहिलो चरणमा सञ्चालक तोकिएको र सञ्चालक समितिले पूर्णता पाएपछि प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढ्ने बताए । ती सबै कम्पनीका अध्यक्षमा भने कार्यकारी निर्देशक कुलमान घिसिङ अध्यक्ष तथा संयोजक, जलविद्युत लगानी तथा विकास कम्पनी र विद्युत उत्पादन कम्पनीबाट १ र १ जना प्रतिनिधि रहने व्यवस्था छ ।

प्राधिकरणका अनुसार तामाकोसी पाँचौंको सञ्चालक समिति सदस्यमा प्राधिकरणका निर्देशकद्वय मनोज सिलवाल र ज्ञानेन्द्रमान जोशी, दुधकोसीमा कामु उपकार्यकारी निर्देशकद्वय मोहनरत्न शाक्य र काशेन्द्र यादवलाई तोकिएको छ । पावर ट्रेडिङमा प्रवक्ता अधिकारी र जगदिश्वरमान श्रेष्ठ तथा इन्जिनियरिङ कम्पनीमा मोहनरत्न शाक्य र हितेन्द्रदेव शाक्यलाई तोकिएको छ ।

जलविद्युत उत्पादन र जलविद्युत लगानी कम्पनीबाट प्रतिनिधि आएपछि सञ्चालक समिति पूर्ण हुने छ । आयोजना निर्माण गर्न गठित कम्पनीमा ३/३ जना तथा इन्जिनियरिङ र पावर ट्रेडिङमा ५/५ जनाको सञ्चालक समिति हुनेछ । कम्पनी ढाँचामा माथिल्लो अरुण ३३५ मेगावाट, राहुघाट ४० मेगावाट, तामाकोसी पाँचौ ८७ मेगावाट, उत्तरगंगा ३०० मेगावाट, दूधकोसी ३०० मेगावाट, आँधीखोला १८० मेगावाट, तमोर ६६२ 
मेगावाट क्षमताका आयोजना अगाडि बढाउन लागिएको छ ।

ती आयोजनाको क्षमता करिब २ हजार मेगावाट रहेको छ । सञ्चालक समितिको बैठक बसेर प्रमुख कार्यकारी अधिकृत तोकिने प्राधिकरणले जनाएको छ । रासस