Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पूँजीगत खर्च ९ महीनामा ७४ अर्ब ९ करोड

२०७४ जेष्ठ ४ गते

चालू आवको पहिला ९ महीनामा सरकारले विकास निर्माणका आयोजनामा रू। ७४ अर्ब ९ करोडको पूँजी लगानी गरेको छ । यो लगानी कुल विनियोजित पूँजीगत बजेटको २३ दशमलव ७५ प्रतिशत हो । नेपाल राष्ट्र बैङ्कले मङ्गलवार सार्वजनिक गरेको समष्टिगत आर्थिक प्रतिवेदनले यस्तो देखाएको हो ।

अगामी दिनमा प्रतिफल दिने यस्ता आयोजनामा गतवर्षको ९ महीनामा रू. ३२ अर्ब ४४ करोड लगानी भएकामा चालू आवमा बढेर दोब्बरभन्दा पनि धेरै भएको तथ्याङ्कले देखाएको छ । सरकारले उल्लेख्य रूपमा पूँजीगत लगानी गर्ने र त्यसलाई निरन्तरतासमेत दिन सकेको खण्डमा देशमा आर्थिक गतिविधि बढ्ने र त्यसले विकास निमार्णलाई समेत गति दिने अर्थशास्त्रीहरू बताउँछन् ।

अर्थशास्त्री दयाराम पाण्डे पूँजीगत लगानीको मात्रा बढ्दै गएमा अवसर नै अवसरका ढोका खुल्ने बताउँछन् । ‘आर्थिक गतिविधि बढेपछि रोजगारीका नयाँ अवसर खुल्छन्, नागरिकले काम र दाम दुबै पाउन थाल्छन्,’ पाण्डे भन्छन्, ‘पूँजी लगानी बढ्दा अर्थतन्त्रलाई सकारात्मक नतीजा दिन्छ ।’

पूँजीगत लगानीसहित सरकारले यस अवधिमा कुल विनियोजित बजेटको रू। ४ खर्ब १९ अर्ब ९३ करोड खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रू।२ खर्ब ८६ अर्ब ५४ करोड रहेको सरकारी खर्च चालू आवमा ४६ दशमलव ६ प्रतिशतले बढेको हो ।

विकाससँग प्रत्यक्ष सम्बन्ध रहने पूँजीगत  खर्चबाहेक सरकारले समीक्षा अवधिमा रू। ३ खर्ब ५ अर्ब ७७ करोड चालू खर्च पनि गरेको आर्थिक प्रतिवेदनले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा रू। २ खर्ब ११ अर्ब ४४ करोड रहेको चालू खर्च समीक्षा अवधिमा ४४ दशमलव ६ प्रतिशतले बढेको हो ।

समष्टिगत आर्थिक प्रतिवेदनले चालू आव २०७४ को ९ महीनाको समयमा नगद प्रवाहमा आधारित सरकारी बजेट रू। ६३ अर्ब ५९ करोडले बचतमा रहेको समेत देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा रू। ४७ अर्ब ६९ करोड बचतमा रहेको सरकारी बजेट चालू आवको ९ महीनाको समयमा १६ अर्बले बढेको देखिन्छ ।

अघिल्लो वर्ष शून्य दशमलव ४ प्रतिशतले घटेर रू। २ खर्ब ९० अर्ब १९ करोड पुगेको सरकारी राजस्व समीक्षा अवधिमा ४४ दशमलव ४ प्रतिशतले बढेर ४ खर्ब १८ अर्ब ९५ करोड भएको छ । आर्थिक प्रतिवेदनले मूल्य अभिवृद्धि कर, भन्सार, आयकर, अन्तःशुल्कलगायतमा उच्चदरको राजस्व सङ्कलन भएकाले कुल राजस्व सङ्कलन बढेको भनेको छ ।

प्रतिवेदनले सरकार स्रोत परिचालनमा कमजोर रहेकाले सरकारी खर्च न्यून भएको बताएको छ । यसका कारण चालू आवको चैत मसान्तसम्ममा राष्ट्र बैङ्कमा रू। २ खर्ब ३४ अर्ब ६६ करोड नगद मौज्दात सञ्चित रहेको समेत उल्लेख छ ।

यसले केही समयअघि केन्द्रीय तथ्याङ्क विभागले चालू आवमा देशको कुल गार्हस्थ्य उत्पादनमा लक्ष्यभन्दा धेरै आर्थिक वृद्धिदर हुने भनी गरेको अनुमानलाई धेरै हदसम्म प्रामाणित गर्ने देखाएको छ । तथ्याङ्क विभागले अनुकूल मौसम, सहज इन्धन आपूर्ति र निश्चित बनेको विद्युत् आपूर्तिले आर्थिक वृद्धिदर उच्च रहने बताएको थियो । (आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार)