नेपाल राष्ट्र बैंकले एक अर्ब ५४ करोड एक लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको २५ करोड एक लाख रुपैयाँ र ३६४ दिने अवधिको एक अर्ब २९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्नका लागि बोलपत्र आह्वान गरेको हो ।
ट्रेजरी बिलको बोलकबोल सोमबार दिउसो ३ बजे हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोल अनलाइन बिडिङ सिस्टममार्फत गर्नुपर्नेछ । ट्रेजरी बिलको व्याजदर बोलकबोलका आधारमा तय गरिनेछ । ट्रेजरी बिलको निष्काशन भने भोलिपल्ट अर्थात मंगलबार गरिने बताइएको छ ।
जसअनुसार, ९१ दिने अवधिको ट्रेजरी बिल आगामी साउन २४ गते परिपक्व भई सावाँ र व्याज रकम फिर्ता आउनेछ । त्यस्तै, ३६४ दिने अवधिको ट्रेजरी बिल भने ०७५ वैशाख २५ गते परिपक्व हुनेछ ।


