नेपालमा एटिएमको प्रयोग बढ्दै जाँदा यसको सुरक्षाको प्रश्न पनि पेचिलो भएर उब्जदै गएको छ । बैंकमा जम्मा गरेको रकम आवश्यकता पर्दा जुनसुकै बेलामा पनि पैसा निकाल्न सकिने भएकाले एटिएम कार्डको प्रयोग गर्नेहरुको संख्या दिनहुँ बढ्दो छ । तर यहाँका बैंकबाट सञ्चालित एटिएम सेवाको सुरक्षा व्यवस्था भने अत्यन्तै कमजोर रहेको पुष्टि भईसकेको छ । एटिएमबाट गरिने ठगी कसुरमा सजाय कम र बैंकले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा हुने सहजताका कारण पनि अन्तर्राष्ट्रिय संगठित गिरोहको निशानामा नेपाल रहँदै आएको छ ।
खासगरी २०७० सालयता नेपालका एटिएममा अन्तर्राष्ट्रिय गिरोहको आँखा परेको बताइन्छ । त्यसयता हालसम्म चार रोमानियन, तीन टर्कीस, दुई बुल्गेरियन, दुई भारतीय र चार मोल्दोभियन गरी १५ विदेशी पक्राउ परिसकेका छन् ।
केन्द्रीय अनुसन्धान व्यूरोले सोमबार पुनः पूर्व युरोपेली मुलुक मोल्दोभियाका पाँच नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । ठमेल तथा दरबारमार्गमा रहेका विभिन्न बैँकका एटीएमबाट अवैध रुपमा रकम निकाल्ने मोल्दोभियाका निसु दोर्जे पा, भेसिल फेटेस्क्यू पा, युरी डेरेम्जी पा र युजेन्यू दोर्जे पालाई पक्राउ गरेको हो ।
पक्राउ परेकासँग ब्युरोले ४९५ थान एटीएम, नेपाली सात लाख ८१ हजार ३५० रुपैयाँ, अमेरिकी डलर एक हजार ६०५, युरो दुई हजार २४५ सहित एक थान ल्यापटप, माक्स, झोलालगायतका सामग्री पनि बरामद गरेको छ ।
यसअघि गत कात्र्तिकमा प्रहरीले हिमालयन बैंकका विभिन्न एटिएम बुथहरुबाट अनाधिकृत रुपमा पैसा निकाल्ने रोमानियाका नागरिक प्रेडा उर्लेनलाई लाजिम्पाटस्थित शंकर होटल नजिकैबाट पक्राउ गरेको थियो । करिब २ महिनादेखि शंकर होटलमा बस्दै आएका उर्लेनको कोठाबाट सिआइबीको टोलिले एक सय ४० थान नक्कली एटिएम बरामद गरेको थियो । ब्युरोले बेलायत, फ्रान्स, जर्मनी, युक्रेन, रसिया, इटाली, इण्डोनसिया, जापान लगाएत ४० भन्दा बढी देशका एटिएम कार्डहरु उनको कोठाबाट बरामद गरेको थियो । काठमाडौंमा बसेर दुई महिनादेखि नक्कली एटिएम कार्डबाट पैसा निकाल्ने धन्दा गरिहरेका उर्लेनको साथबाट २ लाख ६४ हजार नगद पनि बरामद भएको थियो ।
२०७१ साल मंसिरमा एटिएम बुथबाट पैसा निकाल्न नेपाल आइपुगेका टर्कीका नागरिक मेहमुद गुलेनलाई सिआइबीले नै पक्राउ गरेको थियो । नेपालका एटिएमबुथबाट निकालिएको २६ लाखसहित पक्राउ परेका गुलेनले पनि अर्काको एटिएमका डाटा चोरेर पैसा निकाल्ने गरेको भेटिएको थियो । उनले दुबई, थाइल्याण्ड हुँदै नेपालसम्म आएर अरु नै देशमा भएका खातावालाको पैसा निकाल्ने गर्दथे । त्यस्तै बुलगेरियाका नागरिक पेट्रोस्लभा रिस्टोभ पनि एटिएमबाट पैसा निकालेको आरोपमा नेपालबाट पक्राउ परेका थिए । हिमालयन बैंककै एटिएमबाट पैसा निकालिरहेको अवस्थामा पक्राउ परेका रिस्टोभको साथबाट एक करोड २० लाख रुपैंयासमेत बरामद भएको थियो ।
यी चारै घटनाले अन्तर्राष्ट्रिय हृयाकरहरुले नेपालका बैंकलाई निशानामा पार्न थालेको स्पष्ट भएको छ । विशेष गरी नेपालका बैंकहरुले चिप्सवाला एटिएम प्रयोग नगर्दा सुरक्षा कमजोरी देखिएको बताइन्छ । ब्युरोले हालसम्म ८४ लाख २८ हजार नेपाली रुपैँया, ६३ हजार ८५५ अमेरिकन डलर, ६२ हजार ९५० युरो र एक हजार १३९ थान एटीएम कार्ड बरामद गरिसकेको छ ।
ह्याकरहरुले नेपालका ग्राहकको पैसा निकाल्ने होइन, विभिन्न देशका एटिएम कार्ड र त्यसको डाटा ल्याउने र नेपालमा जुन देशको एटिएमले काम गर्छ त्यसैबाट पैसा निकाल्ने गरेको भेटिएको छ । जुन देशको एटिएमले नेपालमा काम गर्छ त्यहि देशका अरु एटिएमहरुको पनि डाटा मागाएर थप पैसा निकाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विभिन्न देशबाट निकालिएको रकमको ७० प्रतिशत एटिएमको डाटा उपलब्ध गराउने समूहलाई दिनुपर्ने पक्राउ परेकाहरुले प्रहरीसँगको बयानमा बताएका छन् ।


