नेपाल राष्ट्र बैंकले बारम्बार व्याजदर वृद्धि नगर्न/नगराउन बैंकहरुलाई निर्देशन दिएको छ । आइतबार पाँच बुँदे निर्देशनसहितको परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो । केही दिनअघि बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर परिवर्तनमा कडाई गर्न लागेको जानकारी गराएको राष्ट्र बैंकले आइतबार यस्तो निर्देशन जारी गरेको हो । सर्वोच्च अदालतले कात्तिक ७ गते गरेको फैसलाको आधारमा राष्ट्र बैंकले उक्त निर्देशन जारी गरेको जनाएको छ ।
राष्ट्र बैंकले कर्जा दिने समयमा नै कर्जावालाको सम्पत्तिको सही मूल्यांकन हुने वातावरणको सुनिश्चितता कायम गर्न, धितोको लिलामी बिक्री वा सकार गर्दा प्रचलित बजार मूल्य अनुसार नै गर्न र, ऋणीका परिवार वा सरोकारवालाको सामाजिक प्रतिष्ठामा प्रतिकुल नपार्ने वातावरण मिलाउदै न्यायोचित तरिकाले कर्जा असुलको प्रक्रिया थाल्न समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।


