(आर्थिक वर्ष २०७३/७४ को छ महिनासम्मको तथ्याङ्कमा आधारित)
समष्टिगत आर्थिक परिदृश्य
१. समष्टिगत आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्र सबलउन्मुख रहेको औंल्याएका छन् । उदाहरणको लागि उर्जा आपूर्तिमा भएको सुधार र औद्योगिक कच्चा पदार्थको आपूर्तिमा आएको सहजताले उद्योग क्षेत्रको क्षमता उपयोग बढने देखिएको छ । बहुप्रतिक्षित खिम्ती–ढल्केवर विद्युत प्रशारण लाइनको निर्माण कार्य सम्पन्न भएसँगै उर्जा आपूर्ति सुदृढ भएको र यसबाट औद्योगिक वातावरणमा थप सुधार हुने
देखिन्छ ।
२. सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन संख्यामा ३५.४ प्रतिशतले वृद्धि भई कुल ७ लाख २९ हजार ५५० पर्यटकहरुले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमनमा भएको सुधारको परिणामस्वरुप होटल तथा रेष्टुरेन्ट व्यवसाय विस्तार हुने अनुमान छ ।
३. धानको उत्पादनमा भएको उल्लेख्य वृद्धिले कृषि क्षेत्रको वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अनुमान छ । कृषि क्षेत्रको उत्पादन, पर्यटक आगमन र औद्योगिक उत्पादनमा हुने सम्भावित सुधारबाट समग्र आर्थिक वृद्धिको परिदृष्य सुदृढ देखिएको छ ।
४. पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति दर घटदै आएकोले नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर शून्यमा झरेको छ । पेट्रोलियम पदार्थको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने वृद्धि भने नेपालको मुद्रास्फीतिमा चुनौतीको रुपमा रहेको छ ।
५. आयातमा उच्च वृद्धि भएता पनि मुलुकको शोधनान्तर स्थिति बचतमा रहेकोले वैदेशिक मुद्राको सञ्चिति बढदै आएको छ । तर विप्रेषण आप्रवाहको घटदो वृद्धिदर चिन्ताको विषय रहेको छ ।
५. सरकारी बजेट स्थिति मजवुद रहदैं आएको छ । राजस्वमा उल्लेख्य वृद्धि भएबाट सरकारी बजेट बचतमा रहेको कारण २०७३ पुस मसान्तसम्ममा राष्ट्रको ढुकुटीमा रु. २१७ अर्ब ६० करोड नगद मौज्दात कायम भएको छ ।
७. पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन र कर्जा प्रवाहको विस्तारमा देखिएको असन्तुलनका कारण केही वित्तीय घर्षण देखिएकोमा खुल्ला बजार कारोवार मार्फत् प्रवाहित तरलता र नेपाल राष्ट्र बैंकद्वारा हालसालै जारी बजार मार्गनिदर्शनका कारण यस्तो घर्षणमा सुधार आएको छ । पछिल्ला दिनहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख रहेको देखाउँछ ।
मुद्रास्फीति र तलब तथा ज्यालादर
उपभोक्ता मुद्रास्फीति
८. २०७३ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७२ पुस महिनाको १२.१ प्रतिशतको उच्च बिन्दुबाट ३.२ प्रतिशतमा ओर्लेको छ ।
९. गत वर्षको आधार मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा सुधार र भारतमा उपभोक्ता मुद्रास्फीतिदर घटदै गएको कारण पछिल्ला महिनाहरुमा उपभोक्ता मुद्रास्फीति निरन्तर घटदै आएकोे छ ।
खाद्य मुद्रास्फीति
१०. समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति १५.२ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको घ्यू तथा तेलको मूल्यमा १३.९ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्यमा ६.६ प्रतिशत, तरकारीको मूल्यमा ३.९ प्रतिशत, फलफूलको मूल्यमा २.० प्रतिशत, मासु तथा माछाको मूल्यमा १.७ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा १.२ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको हो । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ११.२ प्रतिशतले वृद्धि भएको छ ।
गैर–खाद्य मुद्रास्फीति
११. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ९.७ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति
१२. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.७ प्रतिशत, हिमालमा ४.२ प्रतिशत, तराईमा २.८ प्रतिशत, र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२.१ प्रतिशत, हिमालमा १०.० प्रतिशत, तराईमा १०.७ प्रतिशत र काठमाडौं उपत्यकामा १३.८ प्रतिशत रहेको थियो ।
नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर
१३. २०७३ पुस महिनामा भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२ प्रतिशत रहेकोमा नेपालको मुद्रास्फीति पनि ३.२ प्रतिशत नै रहेको छ । समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर शुन्य रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः १२.१ प्रतिशत र ५.७ प्रतिशत रहेकोले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ६.४ प्रतिशत रहेको थियो ।
थोक मुद्रास्फीति
१४. समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क २.० प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.८ प्रतिशतले वृद्धि भएको छ भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको छ । अघिल्लो
वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १२.२ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क १.३ प्रतिशतले घटेको थियो ।
राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क
१५. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ४.५ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा १८.५ प्रतिशत र ज्यालादर सूचकाङ्कमा १३.० प्रतिशतले वृद्धि भएको छ । नेपाल सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले तलब तथा ज्यालादर सूचकाङ्कमा उच्च वृद्धि भएको हो । तलब अन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २०.८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादर अन्तर्गत निर्माण मजदूर, कृषि मजदूर र औद्योगिक मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः १४.० प्रतिशत, १३.५ प्रतिशत र ११.६ प्रतिशतले वृद्धि भएको छ ।
बाह्य क्षेत्र
वैदेशिक व्यापार
१६. आर्थिक बर्ष २०७३/७४ को छ महिनासम्ममा कुल वस्तु निर्यात १४.८ प्रतिशतले वृद्धि भई रु. ३६ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २७.२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ १७.१ प्रतिशत, चीनतर्फ ५४.८ प्रतिशत र अन्य मुलुकतर्फ १०.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, जि.आई.पाईप लगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिष्टर यार्न, ऊनी गलैंचा, तरकारी लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
१७. समीक्षा अवधिमा कुल वस्तु आयात ६७.३ प्रतिशतले बढेर रु. ४६४ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ९५ प्रतिशत, चीनबाट भएको आयात ३४.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २९.५ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपूर्जा, पेट्रोलियम पदार्थ, एम.एस विलेट, मेशिनरी लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।
१८. भन्सार नाकाका आधारमा भैरहवा भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएकोनिर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मेची भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका र कैलाली भन्सार कार्यालय नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
१९. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ७४ प्रतिशतले बढी रु. ४२८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५.५ प्रतिशतले घटेकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.८ प्रतिशतमा रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४
प्रतिशत रहेको थियो ।
निर्यात आयात मूल्य सूचकाङ्क
२०. आर्थिक वर्ष २०७३/७४ को छ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा ११.८ प्रतिशत र आयात मूल्य सूचकाङ्कमा २.६ प्रतिशतले वृद्धि भएकोले व्यापारको सर्तमा ८.९ प्रतिशतले सुधार भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त २५ प्रतिशतले बढेको थियो । अलैची, चिया, यार्सागुम्बा, कार्पेट, पश्मिनाको निर्यात मूल्यमा वृद्धि भएको कारण निर्यात मूल्य सूचकाङ्कमा वृद्धि भएको हो भने छ । पेट्रोलियम पदार्थ, टायर, सवारी साधन, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकाङ्कमा वृद्धि भएकोे हो ।
सेवा
२१. समीक्षा अवधिमा कुल सेवा आय १०.४ प्रतिशत र कुल सेवा खर्च ८.९ प्रतिशतले बढेको कारण खुद सेवा आय बचत रु.४ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. ३ अर्ब २ करोड रहेको थियो । सेवा खाता अन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ३०.४ प्रतिशतले वृद्धि भई रु. २६ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १७ प्रतिशतले घटेको थियो ।
विप्रेषण आप्रवाह
२२. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.७ प्रतिशतले वृद्धि भई रु. ३४२ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भएको थियो । खुद ट्रान्सफर आय ५.६ प्रतिशतले वृद्धि भई रु. ३९९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.५ प्रतिशतले बढेको थियो ।
२३. विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७३/७४ को छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२.५ प्रतिशतले घटेको थियो ।
चालू खाता एवम् शोधनान्तर
२४. अघिल्लो बर्षको छ महिनामा रु. १५७ अर्ब ५२ करोडको उच्च बचतमा रहेको चालू खाता समीक्षा अवधिमा वस्तु आयात उच्च दरले बढेको कारण रु. १ अर्ब ८ करोडले घाटामा गएको छ । त्यसैगरी, अघिल्लो वर्षको छ महिनासम्ममा रु. १३९ अर्ब ७५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. ४५ अर्ब २ करोडले बचतमा रहेको छ ।
२५. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु. ७ अर्ब ९३ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. ७ अर्ब ३९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु. ७ अर्ब ४१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु. १ अर्ब ९३ करोड रहेको थियो ।
विदेशी विनिमय सञ्चिति
२६. कुल विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १०३९ अर्ब २१ करोडबाट ४.८ प्रतिशतले वृद्धि भई २०७३ पुस मसान्तमा रु. १०८८ अर्ब ८५ करोड रहेकोे छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७३ असार मसान्तको रु. ८८७ अर्ब १ करोडको तुलनामा २०७३ पुस मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई रु. ९२८ अर्ब ७४ करोड रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७३ असार मसान्तको रु. १५२ अर्ब २० करोडको तुलनामा ५.२ प्रतिशतले वृद्धि भई रु. १६० अर्ब ११ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्रा सञ्चितिको अंश २१.९ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचकहरू
२७. आर्थिक वर्ष २०७३/७४ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.३ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.५ प्रतिशत, १०३.५ प्रतिशत र ४४.९ प्रतिशत रहेका छन् । २०७३ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४६.२ प्रतिशत, ११७.४ प्रतिशत र ४६.३ प्रतिशत रहेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम एवम् सुनको मूल्य स्थिति तथा विनिमय दर प्रवृत्ति
२८. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७२ पुस मसान्तमा प्रति ब्यारल अमेरिकी डलर २८.८४ रहेकोमा २०७३ पुस मसान्तमा ८८.५ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ५४.३७ कायम भएको छ । त्यसैगरी, सुनको मूल्य २०७२ पुस मसान्तमा प्रति आउन्स अमेरिकी डलर १०८८.४० रहेकोमा २०७३ पुस मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर ११९०.३५ पुगेको छ ।
२९. २०७३ असार मसान्तको तुलनामा २०७३ पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.१ प्रतिशतले अवमूल्यन भएको थियो । २०७३ पुस मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०८.५४ पुगेको छ । २०७३ असार मसान्तमा उक्त विनिमय दर रु. १०६.७३ रहेको थियो ।
सरकारी वित्त स्थिति
बजेट घाटा/बचत
३०. आर्थिक वर्ष २०७३/७४ को छ महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारकोबजेट रु. ८० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु. २८ अर्ब ९३ करोड रहेको थियो ।
सरकारी खर्च
३१. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ५५.७ प्रतिशतले वृद्धि भई रु.२४८ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३.७ प्रतिशतले बढेर १५९ अर्ब ४० करोड पुगेको थियो ।
३२. समीक्षा अवधिमा चालू खर्च बढेर रु. १९६ अर्ब ४७ करोड पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१२६ अर्ब १ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च रु. ३० अर्ब ९७ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु. १३ अर्ब ६३ करोड भएको थियो । तथापि विविध शिर्षकमा भएको खर्च वार्षिक बजेट अनुमानको तुलनामा न्यून नै रहेको छ ।
सरकारी राजस्व
३३. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ६८.९ प्रतिशतले वृद्धि भई रु. २७७ अर्ब ५७ करोडमा पुगेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १३.७ प्रतिशतले घटेर रु. १६४ अर्ब ३३ करोड पुगेको थियो । मूल्य अभिवृद्धिकर, भन्सार, आयकर, अन्तशुल्क लगायतका राजस्वका शीर्षकहरु उच्च दरमा बढेकाले सरकारको कुल राजस्व संकलनको वृद्धिदर उच्च रहन गएको हो ।
सरकारको नगद मौज्दात
३४. स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकोले २०७३ पुस मसान्तमा नेपाल सरकारको नेपाल राष्ट्र बैंकमा रु. २१७ अर्ब ६१ करोड नगद मौज्दात कायम रहेको छ ।
मौद्रिक तथा वित्तीय स्थिति
मुद्राप्रदाय
३५. समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ८.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ पुस मसान्तमा विस्तृत मुद्राप्रदाय १८.५ प्रतिशतले बढेको छ ।
३६. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. ४५ अर्ब २ करोडले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. १३९ अर्ब ७५ करोडले बढेको थियो ।
३७. समीक्षा अवधिमा सञ्चित मुद्रा १.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ पुस मसान्तमा उक्त मुद्रा ५.४ प्रतिशतले बढेको छ ।
कुल आन्तरिक कर्जा
३८. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा १.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ पुस मसान्तमा यस्तो कर्जा २४ प्रतिशतले बढेको छ ।
३९. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रमाथिको दावी २०७३ पुस मसान्तमा ३०.९ प्रतिशतले बढेको छ ।
निक्षेप सङ्कलन
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७३ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.८ प्रतिशतले बढेको छ । २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ४२.१ प्रतिशत र ३२.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ४३.८ प्रतिशत र २९.२ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह
४१. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रही रहेको कर्जा १२.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.८ प्रतिशतले बढेकोे थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको १४.८ प्रतिशत र विकास बैंकहरुको ६.२ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ५.२ प्रतिशतले घटेकोे छ । वार्षिक बिन्दुगत आधारमा २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फ लगानीमा रही रहेको कर्जा ३२ प्रतिशतले बढेको छ ।
४२. समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा १३.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १०.५ प्रतिशत, निर्माण क्षेत्रततर्फको कर्जा ११.७ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १०.५ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा ११.९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१ प्रतिशतले बढेको छ ।
४३. २०७३ पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ५९.८ प्रतिशत र १२.५ प्रतिशत रहेको थियो ।
४४. २०७३ असार मसान्तको तुलनामा २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये ओभरड्राफ्ट, शेयर मार्जिन, घरजग्गा तथा हायर पर्चेजतर्फको कर्जा उल्लेख्य विस्तार भएको छ ।
४५. २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहेको कर्जामा घर जग्गा कर्जा (रु. एक करोडसम्मको आवासीय घर कर्जा समेत) को अंश १५.१ प्रतिशत रहेको छ ।
४६. २०७३ पुससम्ममा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल कर्जाको २.७ प्रतिशत (रु. ४२ अर्ब ७३ करोड) छ ।
४७. समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६.४ प्रतिशत (रु. ४ अर्ब ६२ करोड) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १३.४ प्रतिशतले घटेको थियो ।
तरलता व्यवस्थापन
४८. आर्थिक वर्ष २०७३/७४ को ६ महिनासम्ममा यस बैंकले रिपो बोलकबोलमार्फत् रु. १५ अर्ब ४० करोड तरलता प्रवाह गरेको छ । साथै, समीक्षा अवधिमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुले रु. १३ अर्ब ९८ करोडको स्थायी तरलता सुविधा उपयोग गरेका छन् ।
४९. आर्थिक वर्ष २०७३/७४ को ६ महिनासम्मको अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब ४ करोड खुद खरिद गरी रु. २१९ अर्ब ३५ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब २३ करोड खुद खरिद भई रु. २३४ अर्ब १३ करोड खुद तरलता प्रवाह भएकोे थियो ।
५०. आर्थिक वर्ष २०७३/७४ को ६ महिनासम्ममा खुलाबजार कारोबार मार्फत् रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन गरिएको छ । यस अन्तर्गत ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप बोलकबोलमार्फत् रु. २९ अर्ब ८० करोड, ९० दिने निक्षेप बोलकबोलमार्फत् रु. ७ अर्ब ५ करोड र रिभर्स रिपोमार्फत् ६४ अर्ब २५ करोडको प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोलकबोल, रिभर्स रिपो तथा सोझै बिक्री बोल–कबोलमार्फत् क्रमशः रु. १९८ अर्ब ४० करोड, रु. ९७ अर्ब ३५ करोड र रु.९ अर्ब १० करोड तरलता प्रशोचन गरिएको थियो ।
५१. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ९८ करोड र यूरो ९ करोड ५० लाख बिक्री गरी रु. २२४ अर्ब ३० करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३४ करोड बिक्री गरी रु. १४० अर्ब ९९ करोड बराबरको भा.रु. खरिद भएको थियो ।
पुनरकर्जा, उत्पादनशील कर्जा र विपन्न वर्ग कर्जा
५२. उत्पादनशील क्षेत्रतर्फ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । समीक्षा अवधिमा साधारण पुनरकर्जा रु. ४ अर्ब ९० करोड र निर्यात कर्जा रु. ३७ करोड गरी कुल रु. ५ अर्ब २७ करोड पुनरकर्जा उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ रु. १ अर्ब ७० करोड र निर्याततर्फ रु. १६ करोड गरी जम्मा रु. १ अर्ब ८६ करोड पुनरकर्जा उपयोग भएको थियो ।
५३. भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७३ पुस मसान्तसम्म कुल १२३ जनालाई रु. २६ करोड ५७ लाख कर्जा प्रवाह भएको छ ।
५४. यस बैंक अन्तर्गत संचालन हुने गरी स्थापना भएको पुनरुद्धार कोषमा नेपाल सरकारको तर्फबाट ब्याज अनुदान खातामा रु. २ अर्ब ७५ करोड र पुनरकर्जा खातामा रु. २ अर्ब २५ करोड जम्मा भएकोे छ ।
५५. तोकिएका कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने नेपाल सरकारको नीतिगत व्यवस्था अन्र्तगत २०७३ असोज मसान्तसम्ममा ३९९६ जना किसानहरूले रु. ४ अर्ब ८० करोड कर्जा उपयोग गरेका छन् । यस व्यवस्था अन्तर्गत रु. १० करोड ११ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।
५६. वाणिज्य बैंकहरूले तोकिएका उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत कर्जा प्रदान गर्नुपर्ने नीतिगत व्यवस्था रहेकोमा २०७३ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूको यस्तो कर्जा अनुपात १५.३ प्रतिशत रहेको छ ।
५७. “क”, “ख” तथा “ग” बर्गका बैंक तथा वित्तीय संस्थाहरुले विपन्न बर्गमा न्यूनतम् ५ प्रतिशत, ४.५ प्रतिशत र ४ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था मध्ये २०७३ पुस मसान्तसम्म क्रमशः ५.६ प्रतिशत, ६.५ प्रतिशत र ४.६ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।
अन्तर–बैंक कारोबार
५८. आर्थिक वर्ष २०७३/७४ को ६ महिनासम्ममा वाणिज्य बैंकहरूले रु. ५९५ अर्ब ५९ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. १९७ अर्ब ९३ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ४११ अर्ब र रु. ३४ अर्ब ७५ करोडको यस्तो कारोबार गरेका थिए ।
ब्याजदर
५९. २०७२ पुसको तुलनामा २०७३ पुसमा ९१–दिने ट्रेजरी विल र अन्तर–बैंक कारोबारकोे भारित औसत ब्याजदर बढेको छ । २०७२ पुसमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.६८ प्रतिशत रहेकोमा २०७३ पुसमा १.७४ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ पुसको ०.२६ प्रतिशतको तुलनामा २०७३ पुसमा २.७१ प्रतिशत रहेको छ । अन्य वित्तीय संस्थाहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७२ पुसको १.२१ प्रतिशतको तुलनामा २०७३ पुसमा ५.५३ प्रतिशत रहेको छ ।
६०. २०७३ पुसमा वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको पुसमा यस्तो ब्याजदर अन्तर ५.९७ प्रतिशत रहेको थियो । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७२ पुसको ६.८२ प्रतिशतको तुलनामा २०७३ पुसमा ७.१ प्रतिशत कायम हुन आएको छ ।
मर्जर/प्राप्ति
६१. वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जर/प्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढदै गएको छ । २०७३ पुस मसान्तसम्ममा कुल १३० वटा बैंक तथा वित्तीय संस्थाहरू (घ वर्गका सहित) मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये ८८ वटा संस्थाहरुको इजाजत खारेज हुनगई कुल ४२ संस्था कायम रहेका छन् ।
शाखा पुनस्र्थापना
६२. नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका द्वन्दकालमा विस्थापित भएका ३१८ शाखाहरुमध्ये २०७३ पुस मसान्तसम्म १५१ शाखा पुनस्र्थापित भएका छन् ।
पूँजी बजार
६३. वार्षिक विन्दुगत आधारमा, नेप्से सूचकाङ्क २०७३ पुस मसान्तमा २४.३ प्रतिशतले वृद्धि भई १,४७९.९ विन्दुमा पुगेको छ । २०७३ असार मसान्तको १,७१८.२ विन्दुको तुलनामा भने नेप्से सूचकाङ्कमा १३.९ प्रतिशतले ह्रास आएको छ ।
६४. आर्थिक वर्ष २०७३/७४ को पहिलो ६ महिनामा कुल सेयर कारोबार रकम अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२९.९ प्रतिशतले वृद्धि भई रु. ११५ अर्ब १ करोड पुगेको छ । डिम्याट प्रणालीबाट कारोबार भई स्टकको तरलता बढेको, चालू आर्थिक वर्षदेखि नेप्सेको कारोबार समयमा वृद्धि भएको तथा नेप्से सूचकाङ्कमा ठूलो वृद्धि भएका कारण कुल कारोबार रकममा वृद्धि देखिएको हो ।
६५. आर्थिक वर्ष २०७३/७४ को पहिलो ६ महिनामा नेपाल धितोपत्र बोर्डले १० वटा कम्पनीहरुलाई रु.७ अर्ब ६६ करोड बराबरको ३ करोड ५० लाख कित्ता सेयर प्राथमिक निष्कासन (थप निष्कासनसहित) का लागि स्वीकृति दिएको छ ।
स्रोत : नेपाल राष्ट्र बैंक



