February 11th, 2017

‘लघुवित्तलाई गलत तरिकाले व्याख्या गरियो’

विष्णु ढकाल – पछिल्ला तथ्याँङ्कहरुले नेपालको झण्डै ३० लाख घरपरिवार लघुवित्त क्षेत्रसँग प्रतक्ष्य आबद्ध रहेको र लघुवित्तमा आबद्ध हुने अधिकांश महिला रहेको देखाएको छ । गरिबी निवारणको प्रमुख अस्त्रको रुपमा संसारभर लघुवित्तलाई हेर्ने गरीएको परिप्रेक्ष्यमा नेपालमा समेत लघुवित्त क्षेत्रले गरिबी निवारण गर्न तथा स्थानीय साधन, सीप र श्रोतको परिचालन गर्न, संरचनागत रुपमा आत्मनिर्भर विकास प्रकृयाको प्रवद्र्धन एवं बिस्तार गराउन र उपेक्षित ,अल्पसंख्यक र पिछडिएका वर्गलाई वित्तीय सेवा उपलव्ध गराउन खेलेको भुमिका अतुलनीय छ । यती हुँदाहुँदै पनि पछील्लो समय श्रृखलाबद्ध रुपमा विभिन्न संचारमाध्यमहरु मार्फत लघुवित्त क्षेत्रमा देखिएका तमाम विकृति विसंगतीहरु सार्वजनिक हुँदै आएका छन् । जसले नेपालको लघुवित्त क्षेत्र र यसले हासिल गरेका सम्पूर्ण उपलब्धिहरुलाई धुमिल पार्नसक्ने खतरा उत्पन्न भएको छ । लघुवित्त संस्थाहरु समाज रुपान्तरणको नायक बन्नुपर्नेमा अहिले जसरी खलनायकको रुपमा चित्रण गरिएका छन् । के यथार्थ यस्तै हो ? साँच्चै लघुवित्त संस्थाहरु नायकबाट खलनायकमा परिणत हुँदै गएका हुन् ? उत्तर खोज्नु पर्ने समय आएको छ ।

संस्थागत वित्तीय पहुँचबाट टाढा रहेका लाखौं सिमान्तकृत, गरिब तथा विपन्न वर्गका, कसैले नपत्याएका मानिसहरुलाई उनिहरुको घरदैलोमै गई, आर्थिक उपार्जनको बाटोमा अग्रसर गराउदै, सहज कर्जा प्रदान गरी, उद्यमी बनाउन महत्वपूर्ण भुमिका खेलेको लघुवित्त क्षेत्र, लाखौं पढ्न लेख्न नजान्ने महिला दिदिबहिनिहरुलाई साक्षर बनाउन महत्वपूर्ण भुमिका खेलेको लघुवित्त क्षेत्र, विभिन्न सिपमूलक तालिमहरु मार्फत स्थानिय जनताको अर्थिक सामाजिक अवस्था सुधार गर्न महत्वपूर्ण भुमिका खेलेको लघुवित्त क्षेत्र, नागरीकता, जन्म दर्ता, विवाह दर्ता, मृत्युदर्ता नभएका, नगराएका लाखौं मानिसहरुलाई गर्न, गराउन उत्प्रेरणा गर्ने कार्यमा महत्वपूर्ण भुमिका खेलेको लघुवित्त क्षेत्र, आफ्नो कुरा प्रष्ट राख्न, बोल्न डराउने लाखौं महिला दिदिबहिनिहरुलाई सामूहिक नेतृत्व मार्फत सबैका सामू निर्धक्क बोल्न र आफ्नो कुरा प्रष्ट राख्न सक्षम बनाउन सफल भएको लघुवित्त क्षेत्र, हजारौं अवसरहरु सिर्जना गरी देश विकासमा महत्वपूर्ण योगदान दिदैं आएको लघुवित्त क्षेत्र आज जसरी अगाडी बढीरहेको छ त्यसको समयमै सही समिक्षा गर्न सकिएन र सही दिशा दिन सकिएन भने गरिबि संग्राहलयमा पुर्याउने लक्ष्य बोकेको लघुवित्त क्षेत्र नै एकदिन संग्रालयमा पुग्नुपर्ने नमिठो क्षण नआउला भन्न सकिन्नँ ।        

अहिले लघुवित्त क्षेत्रमा कल्पनै नगरेका विकृतिहरु देखा पर्न थालेका छन् । लघुवित्तकै कारण मान्छेहरुले आत्महत्या गर्नु परेको, घरबार बिग्रीएको, पलायन भएर भाग्नु परेको कर्जा तिर्न घरखेत बेच्नु परेको जस्ता दुखद समाचारहरु बाहिर आउनाले लघुवित्त क्षेत्र कसरी अगाडी बढीरहेको छ ,अनुमान गर्न सकिन्छ । आफ्नो पवित्र मार्ग बाट बिचलित भएर आजको यो अवस्थामा कसरी आइपुग्यो त लघुवित्त क्षेत्र भन्ने केलाउन केही महत्वपूर्ण विषयहरुको बारेमा चर्चा गर्नु आवश्यक रहन्छ जसलाई तल क्रमशः प्रस्तुत गरीएको छ ।

उद्देश्यबाट विमुख हुनु
गरिब तथा विपन्न वर्गलाई सहज वित्तीय सेवा प्रदान गर्ने र तिनको आर्थिक सामाजिक उत्थान गर्ने पवित्र उद्देश्य बोकेको लघुवित्त क्षेत्र अहिले जसरी आफ्नो उद्देश्यबाट विमुख हुन थालेको छ । जसरी भए पनि नाफा कमाउनु पर्छ भन्ने मानसिकता विकास हुँदै गएको छ । लघुवित्त क्षेत्रमा लगानी गर्दा प्रसस्त नाफा कमाउन सकिन्छ भन्ने सोच हाबी हुन थालेको छ । समस्याको जड यहीँ छ । जब सम्म हामी सेवा भाव बाट परिचालित भएर बास्तविक गरीब तथा विपन्न वर्ग सम्म पुग्न सक्दैनौ र नाफा कमाउने नाउँमा अन्धाधुन्ध लगानी गरीरहन्छौं तबसम्म अहिलेको समस्या दोहरीनै रहने छ । 

लक्षित बर्गको पहिचान नहुनु
अहिलेको तितो यथार्थ के हो भने,जो सम्म लघुवित्त सेवा पुग्नु पर्ने हो तीसम्म पुग्न सकेको छैन । संसारभर लघुवित्त क्षेत्रमा लक्षित वर्ग पहिचान गर्न, सहभागीतामूलक ग्रामीण लेखाजोखा (एच्ब्), सहभागीतामूलक सम्पती स्तरीकरण (PWR), द्रुत ग्रामीण लेखाजोखा (RRA) लगायतका स्थापित विधिहरु प्रयोगमा रहेको पाइन्छ । तर नेपालमा औंलामा गन्न सकिने केही लघुवित्त वित्तीय संस्थाहरु बहेक अधिकांशले यस्ता विधिहरुको प्रयोग नै गर्दैनन् । फिल्ड तहमा काम गर्ने कर्मचारीहरुको स्वविवेकको भरमा लक्षित सदस्य छानिन्छन् । टार्गेटको भारी बोकाइएका, आवश्यक तालिम अनुभव प्रायाप्त नभएका, फिल्डमा काम गर्ने तल्लो तहका कर्मचारीहरुले आफ्नो टार्गेट पुरा गर्न जोजो आउँछन् ती सबैलाई सदस्य बनाउने चलन अहिले लघुवित्त क्षेत्रमा व्याप्त छ । स्थापित विधि प्रकृयाको अवलम्बन विना छनौट गरिएका लक्षित वर्ग बाहेकका सदस्यहरुले नै अहिले लघुवित्त क्षेत्रलाई धारासायी बनाउने र बदनाम गर्ने कार्य गरेको पाईन्छ । एउटै ब्यक्तिले ३५ जना सम्मको कर्जा चलाएर फरार भएको समाचारले हामीले छनौट गरेको लक्षित वर्ग कस्ता रहेछन् भन्नेकुरा छर्लङ्ग भएको छ । जबसम्म हामी लक्षित वर्ग छनौट गर्ने विधि प्रकृया अबलम्बन गर्दैनौं, जब सम्म हाम्रो मानसिकता जसरी भए पनि, जस्ता भए पनि सदस्य थप गर्ने रहन्छ, जबसम्म हामी तल्ला तहका कर्मचारीहरुलाई टार्गेटको भुतले तर्साइ रहन्छौं । जबसम्म हामी स्वःस्पूर्त रुपमा उत्पेरीत भएर कार्य गर्ने वातावरण बनाउँदैनौं जबसम्म हामी नयाँ लक्षित ग्राहक खोज्न साधन, समय र श्रोत को प्रयोग गर्दैनौं, नाफा मात्रै हेरी रहन्छौं तबसम्म लघुवित्त क्षेत्रमा देखिएका समस्या जहाँको त्यही रहने छ ।  

व्याजदरमा समस्या
लघुवित्तको व्याजदर सम्बन्धमा संधै विवाद रहँदै आएको छ । धेरै मान्छेहरुको बुझाइ लघुवित्तले चर्को व्याज लिएर अत्याधिक नाफा कमाइरहेको भन्ने छ । जसका कारण केन्द्रिय बैंकले अहिले लघुवित्त वित्तीय संस्थाहरुलाई १८ प्रतिशत भन्दा बढी व्याज लिन नपाउने गरी अंकुश लगाएको छ । हामी सबैले के बुझनु आवश्यक थियो भने, लघुवित्त संस्थाहरु केवल कर्जा प्रदान गर्ने संस्था मात्रै थिएनन् । यीनले समाज रुपान्तरण गर्ने अभियानको नेतृत्व गर्नु पर्ने थियो र जसका लागी भनेरै केही बढी व्याज लिने गरीएको थियो । तर पछील्लो समय लघुवित्त संस्थाहरुले सदस्यको क्षमता विकास, बजार विस्तार तथा स्थानिय तहमा उत्पादीत बस्तु सेवालाई बजारसंग जोड्ने संयन्त्र निर्माणमा सुको पैसा खर्च गरेनन्। नयाँ अन्वेषण गरेनन् । आबद्ध सदस्यहरुलाई उनिहरुले तिरेको व्याज बाट राहत, सुविधा उपलब्ध गराउने कार्यमा उदासिन हुँदै आए र जे का लागी भनेर बढी व्याज लिइएको थियो त्यो नगरी रेकर्डमा प्रतिफल वितरण गर्ने, पूजिँबजारमा चलखेल गर्ने जस्ता विकृतिहरु देखा पर्न थाले । फलस्वरुप लघुवित्त संस्थाहरु नयाँ सामन्तको रुपमा चित्रित हुन थाले । अब त झन् हामीले केन्द्रीय बैंकले तोके अनुसराकै व्याज लिएका हौं भन्दै लघुवित्त संस्थाहरु सामाजीक रुपान्तरण गर्ने कार्य बाट पन्छिने छन् र कर्जा लिने दिने कार्यमै रुमल्लिने छन् जसको कारण स्थिति अझ भयावह हुने निश्चित छ । लघुवित्तको व्याजदरमा नभई तिनको क्रियाकलापमा अंकुश लगाउनु पर्ने थियो । बिडम्बना हामी समस्याको जडमै नपुगी समाधानको सतही प्रयासमा लाग्यौं । जसले यस क्षेत्रलाई थप हानी पु¥याउने निश्चित छ । 

फितलो अनुगमन संयन्त्र 
लघुवित्त क्षेत्र केही आधारभुत सिद्धान्तको जगमा अडीएको हुन्छ । त्यो सिद्धान्त पालना नभएरै अहिले बिभिन्न समस्याहरु देखिन थालेकाछन् । एक जना सदस्यले धेरै सदस्यको कर्जा चलाउने, कर्जा सदुपयोग नगर्ने, कमिसन लिएर सदस्य बनाउने, एउटा वित्तीय संस्था बाट लिएको कर्जा तिर्न अर्को वित्तीय संस्थाबाट कर्जा लिने, कर्जा लिंदा साक्षि बसे बापत कमिसन खाने जस्ता अनेकौं नयाँ बिकृतिहरु देखा पर्दा, लघुवित्त संस्थाहरुले निर्माण गरेको अनुगमन संयन्त्र कस्तो रहेछ भन्ने जग जाहेर भएको छ । उपमहानगरपालीका भित्र अर्काको घरमा एउटा कोठा भाडामा लिएर मजदुरी गर्ने एकजना महिलाले भैंसीपालनका लागी भन्दै ७ वटा लघुवित्त संस्था बाट कर्जा लिएर कर्जा अपचलन गर्दा हाम्रो संयन्त्र के हेरेर बसेको छ । हामीले हाम्रा साथीहरुलाई के सिकाएका रहेछौं । लघुवित्तका ठुला ठेकेदार हौं भन्दै भाषण गर्ने मित्रहरु हो, समिक्षा गरौं । किन हामी तल्ला कर्मचारीहरुलाई सक्षम बनाउँन प्रयास गर्दैनौं, किन हामी नियमित बैठक, तालिम, गोष्ठी तथा समिक्षाहरु गर्दैनौं । किन हामी अनुगमन निरिक्षण गर्ने भरपर्दौ संयन्त्र बनाउँन हिच्किचाउँछौं । कि अनुगमन, निरिक्षण, तालिम, बैठक, गोष्ठि समिक्षा गर्दा नाफा घट्छ भन्ने सोच छ ! नाफा त घट्छ नै । यसै गरी अगाडी बढ्यौं भने नाफा मात्रै होइन तपाई हामी सबैको कद कहाँ पुग्छ ? गम्भीर भएर सोचौं । प्रभावकारी अनुगमन संयन्त्रको विकास गरौं र यस्ता विकृतिहरु रोक्न प्रयास थालौं । अन्यथा हामी एकदिन आफैले खनेको खाडलमा पुरिनेछौं । 

मानब संसाधन व्यवस्थापनमा चुनौती 
लघुवित्त क्षेत्रमा देखिएका थुप्रै समस्याहरुको एउटा कारण मानव संसाधन पनि हो । लघुवित्त क्षेत्रमा सेवा भावले कार्य गर्नु पर्छ भन्ने सोच विस्तारै हराउँदै गएको छ । तिब्र अवसरबाद हावी हुन थालेको छ । राम्रा मान्छेहरुले भन्दा पनि हाम्रा मान्छेहरुले प्रसय पाउन थालेका छन् । लघुवित्तका व्यवस्थापकहरुलाई कर्मचारीलाई सक्षम बनाउने,वृतिविकास गर्ने र तिनलाई वित्तीय संस्था प्रति दत्त चित भएर कार्य गर्न चाहिने आधारभुत आवश्यकताकोपरिपूर्ति गर्ने कुरा गर्दा टाउको दुखेर आउँछ । बिहान ६ बजे देखि बेलुका ८,९ बजेसम्म काम गर्ने लघुवित्तका कर्मचारीहरुको दुःख नबुझी, स्थानिय अवस्था र परिस्थिति नबुझी, कर्मचारीहरुसंग छलफल नगरी केवल नाफा मात्रै कमाउने उद्देश्यका साथ बनाइएको लक्ष र तिनलाई पुरा गर्ने पर्ने गरी थोपरिएको टार्गेटको भुतले तर्सिएकका तल्लो तहका कर्मचारीहरु विभिन्न लघुवित्त चाहार्दै हिंड्ने प्रवृति अहिले हावी भएको छ । जसको असर लघुवित्त क्षेत्रमा अनेकौं विकृतिहरु देखा पर्न थालेको छ । तसर्थ उचित कार्य बातावरणको निर्माण गरी उपलब्ध मानब संसाधनलाई दिगो तथा प्रभावकारी रुपमा परिचालित गर्न समयमै आवस्यक कदम चालिएन भनेलघुवित्त क्षेत्र अहिलेभन्दा अझ भयावह अवस्थामा पुग्ने निश्चित छ । 

समूदायबाट टाढा हुनु
लघुवित्त क्षेत्र स्थानिय समूदाय प्रति सदैब जबाफदेही र पारदर्शि रहनु पर्दछ । लघुवित्तले गरेका हरेक क्रियाकलापमा स्थानियको सहभागीता र अपनत्व हुनु पर्दछ तर अहिले अवस्था त्यस्तो छैन । लघुवित्तका क्रियाकलापको बारेमा स्थानिय बुद्धिजिबी,समाजसेबी,नगरीक अगुवा, कसैलाई थाहै हुँदैन । थाहा भए पनि यो ऋण दिने र चर्को व्याज लिने संस्था हो भन्ने मात्र थाहा हुन्छ । हामी हाम्रा कुनैपनि क्रियाकलापमा उनिहरुलाई सामेल गराउँदैनौं । जनलेखा परिक्षण जस्ता बैधानिक क्रियाकलापहरु मर्फत स्थानिय समुदाय संग प्रतक्ष्य जोडिने र उत्पन्न भएका भ्रमहरु निवारण गर्ने पद्धति हामीले अबलम्बन गर्र्नै सकेनौं । जसको कारण लघुवित्त क्षेत्र स्थानिय समुदायबाट टाढा हुन पुग्यो । फलस्वरुप अहिले देखिएका विकृतिहरु निवारण गर्न हामीले स्थानिय समुदायको सहयोग लिन सकेनौं । 

दोष थोपार्ने प्रवृति
लघुवित्त क्षेत्रमा अहिले झनै खतरनाक प्रवृति देखिएको छ । त्यो के भने, हामीले जति राम्रो कसैले गरेको छैन भन्ने दाबी गर्छन् सबै। आफ्नो गल्ती स्विकार गरेर अगाडी बढ्न कोही तयार छैन । आफूले गरेको सबै राम्रो र अरुले गरेको सबै खराब भन्ने सोचका कारण अहिले समस्या झन् बल्झीएको छ । जसले जे जे गरेको भए पनि हामी सबैले के बुझनु आवश्यक छ भने हामी यस क्षेत्रमा लागेका सबै एउटै राजमार्गमा यात्रा गर्दै छौं । तपाँइलाई सुरक्षित ड्रइभिङ्ग आउँछ भन्दैमा तपाँइ दुर्घटनामा पर्नु हुन्न भन्ने छैन । अर्काले आएर ठोकिदिएर पनि तपाँइ दुर्घटनामा पर्न सक्नु हुन्छ । त्यसैले होसियार हौं । 

अहिलेसम्म जे जस्तो अवस्था आए पनि यस क्षेत्रमा सुधार गर्न सकिने प्रशस्त सम्भावनाहरु बाँकी नै रहेका छन् । अब छिटोभन्दा छिटो सबै सरोकारवालाहरु एकजुट भएर अहिले देखिएका विकृतिहरु पन्छाउन र लघुवित्तको सुद्धिकरण अभियान थालनि गर्न ढिला गर्नु हुँदैन । अब पनि हामी मुक दर्शक भई बस्यौं र नाफा कै पछी लाग्यौं भने हाम्रो विनासलाईकसैले रोक्न सक्दैन ।  (लेखक गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका बरिष्ठ प्रबन्धक हुन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]