अबदेखि नेपालको पाँच रुपैयाँको नोट चीनले बनाउने भएको छ । राष्ट्र बैंकका अनुसार पाँच रुपैयाँको नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत एक चिनियाँ कम्पनीलाई जिम्मा समेत लगाइएको हो । नेपाल राष्ट्र बैंकअन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागका अनुसार चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले ती नोट छाप्नेछ । राष्ट्र बैंकले बुधबार सो कम्पनीसँग पाँच रुपैयाँ दरका नेपाली नोटको छपाई तथा आपूर्ति गर्ने गरी सम्झौता गरेको हो ।
२६ करोड थान नयाँ नोट आउँदै
केन्द्रीय बैंकका अनुसार सम्झौतासँगै अब बजारमा ५ रुपैयाँ दरका २६ करोड थान नयाँ नोट बजारमा आउनेछन् । ती नोट छाप्न ३० लाख ७० हजार ६ सय अमेरिकी डलर (हालको विनीमय दरअनुसार करीव ३२ करोड ८५ लाख ५४ हजार २ सय रुपैयाँ) को सम्झौता गरिएको हो ।
लागत कति ?
केन्द्रीय बैंकले नोट छाप्ने चिनियाँ कम्पनीलाई पाँच रुपैयाँको एउटा नोट छापेको १ रुपैयाँ २७ पैसाको हाराहारीमा मूल्य तिर्नेछ । यसअघि राष्ट्र बैंकले गएको मंसिर ३ गते एक सार्वजनिक सूचना जारी गरी सोको बोलपत्र आह्वान गरेको थियो । निर्धारित समयावधिमा प्राप्त बोलपत्रहरूको मूल्याङ्कन गर्दा न्यूनतम दरमा सारभूत रुपमा बोलपत्र पेश गर्नेमध्येको कर्पोरेसनलाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ ।



