
बैंकिङ खबर / बंगलादेशको चर्चित लघुवित्त संस्था ग्रामीण बैंक (Grameen Bank) का शाखा तथा कार्यालयमाथि शृङ्खलाबद्ध आक्रमण भएपछि लाखौँ सेवाग्राहीको बचत, कर्जा कारोबार र वित्तीय सुरक्षामाथि जोखिम बढेको छ। नोभेम्बर १० देखि २३ सम्म बैंकका ९७ शाखा तथा कार्यालयमा आक्रमण भएको बैंकको आन्तरिक विवरणले देखाएको छ । आगजनी, लुटपाट र तोडफोडका घटनाले बैंकका भौतिक संरचनासँगै महत्वपूर्ण वित्तीय अभिलेखसमेत नष्ट गरेका छन् ।
आक्रमणका क्रममा बैंकका कम्प्युटर, सीसीटीभी उपकरण, फर्निचर, कागजात तथा ऋणसम्बन्धी अभिलेखमा क्षति पुगेको छ । नोभेम्बर १८ मा गोपालगञ्ज जिल्लाको काशियानीस्थित ग्रामीण बैंकको शाखामा भएको आक्रमणमा करिब तीन दशकदेखि सुरक्षित राखिएका वित्तीय कागजातसमेत जलाइएको थियो । आक्रमणकारीले भल्ट खोल्ने प्रयास गर्नुका साथै ऋणसम्बन्धी भौचर र अन्य कागजातका करिब ४० बोरा जलाएका थिए । उक्त शाखाले अझै सामान्य रूपमा सेवा सञ्चालन गर्न सकेको छैन ।
बैंकका शाखामा रहेका वित्तीय अभिलेख नष्ट हुँदा ऋणीको बाँकी कर्जा, किस्ता भुक्तानी विवरण र पुराना कारोबारको प्रमाणीकरणमा समस्या आउन सक्ने जोखिम देखिएको छ । यसले कर्जा असुली, निक्षेप व्यवस्थापन र ग्राहकको वित्तीय विवरण सुरक्षित राख्ने प्रक्रियालाई समेत प्रभावित पार्न सक्छ । शाखा सञ्चालनमा अवरोध हुँदा सेवाग्राहीले नियमित बैंकिङ सेवा लिनसमेत कठिनाइ भोग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
ग्रामीण बैंकका करिब १ करोड ६ लाख सदस्य छन् । तीमध्ये अधिकांश ग्रामीण क्षेत्रका महिला हुन् । बैंकका करिब ५५ लाख ऋणीसँग १९ हजार करोड टाका अर्थात् करिब १ अर्ब ५३ करोड अमेरिकी डलर बराबरको कर्जा बाँकी छ । त्यस्तै, सदस्यहरूको बैंकमा करिब २५ हजार करोड टाका अर्थात् २ अर्ब अमेरिकी डलर बराबरको निक्षेप रहेको छ । यसले आक्रमणको प्रभाव एउटा बैंकको भौतिक संरचनामा मात्र सीमित नरही ठूलो संख्यामा बचतकर्ता र ऋणीको वित्तीय पहुँचसँग जोडिएको देखाउँछ ।
सन् १९८३ मा स्थापना भएको ग्रामीण बैंकले परम्परागत बैंकिङ सेवाको पहुँचभन्दा बाहिर रहेका न्यून आय भएका समुदायलाई साना कर्जा उपलब्ध गराउँदै आएको छ । विशेषगरी ग्रामीण महिलालाई धितोबिनाको कर्जा उपलब्ध गराएर स्वरोजगार, साना व्यवसाय तथा आयआर्जनका गतिविधिमा जोड्नु यसको प्रमुख उद्देश्य हो । बैंकको करिब ९० प्रतिशत स्वामित्व ऋणी सदस्यहरूसँग र बाँकी १० प्रतिशत सरकारसँग रहेको छ । संस्थामा करिब २१ हजार कर्मचारी कार्यरत छन् ।
आक्रमणका कारण कारोबार सञ्चालनमा समस्या भएका शाखामा बाँकी कर्जाको ब्याज गणना स्थगित गरिएको बैंकका प्रबन्ध निर्देशक सर्दार अख्तर हामेदले बताएका छन् । जोखिमपूर्ण स्थानका केही शाखामा सुरक्षा व्यवस्था बढाइएको र कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको पनि उनले जनाएका छन् । लगातारका घटनाले कर्मचारीमा असुरक्षा बढाएको र निक्षेपकर्ताको बैंकप्रतिको विश्वासमा समेत असर परेको उनको भनाइ छ ।
राजनीतिक द्वन्द्वसँग जोडियो बैंकमाथिको आक्रमण
ग्रामीण बैंकमाथिको आक्रमणलाई बंगलादेशको पछिल्लो राजनीतिक तनावसँग जोडेर हेरिएको छ । बैंकका संस्थापक तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले घटनालाई योजनाबद्ध आक्रमणको संज्ञा दिएका छन् । सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । त्यसपछि युनुसले अन्तरिम सरकारको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा अवामी लिग पार्टीको राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाइएपछि पार्टीका समर्थक र नयाँ राजनीतिक नेतृत्वबीच तनाव कायम छ ।
बंगलादेश सरकारले आक्रमणमा अवामी लिगसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाएको छ । आक्रमणकारीले ‘जय बंगलादेश’ र ‘जय बंगबन्धु’ जस्ता नारा लगाएको विवरण पनि सार्वजनिक भएको छ । राजनीतिक विश्लेषकहरूले ग्रामीण बैंकलाई युनुससँग जोडिएको प्रतीकात्मक संस्थाका रूपमा हेर्दै त्यसलाई निशाना बनाइएको हुन सक्ने बताएका छन् । यद्यपि, सबै घटनामा संलग्न व्यक्ति र आक्रमणको निर्देशन दिने पक्ष स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन ।
अलजजिराका अनुसार घटनासम्बन्धी आठवटा मुद्दा दर्ता भएका छन् भने आठ जना पक्राउ परेका छन् । बैंकले कर्मचारी, सदस्य तथा वित्तीय अभिलेखको सुरक्षाका लागि सरकारसँग थप सुरक्षा माग गरेको छ ।
ग्रामीण बैंकमाथिको घटनाले राजनीतिक अस्थिरताका बेला बैंक तथा वित्तीय संस्थाको सुरक्षा, वित्तीय अभिलेखको संरक्षण र निक्षेपकर्ताको विश्वास कायम राख्नु कति महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ । विशेषगरी लघुवित्त संस्थामाथि हुने यस्ता आक्रमणले औपचारिक बैंकिङ पहुँचबाट टाढा रहेका समुदायलाई अनौपचारिक ऋणदातातर्फ धकेल्ने र ग्रामीण अर्थतन्त्रमा वित्तीय अस्थिरता बढाउने जोखिमसमेत निम्त्याउन सक्छ ।