
बैंकिङ खबर / सन सेक्युरिटिज प्रालिले इस्लिङ्टन कलेजका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अछुर्णा काफ्ले विजेता बनेकी छन् ।
सन सेक्युरिटिजले मनीमेज इस्लिङ्टन कम्युनिटीसँगको सहकार्यमा आयोजना गरेको प्रतियोगिता भदौ ८ गतेदेखि ३० दिनसम्म सञ्चालन भएको थियो। विद्यार्थीलाई वास्तविक रकम लगानी नगरी सेयर बजारको कारोबार तथा लगानी प्रक्रियाको व्यावहारिक अनुभव गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा सहभागी विद्यार्थीले सिमुलेसन प्लेटफर्ममार्फत विभिन्न कम्पनीका सेयर खरिद तथा बिक्रीको अभ्यास गरेका थिए। यस क्रममा उनीहरूले बजारको उतारचढाव, कम्पनीको प्रदर्शन, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापनसम्बन्धी अभ्यास गरेका थिए।
अन्तिम नतिजाअनुसार अछुर्णा काफ्लेले टुर्नामेन्ट विजेताको उपाधि हासिल गर्दै २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। अरुण भण्डारी प्रथम उपविजेता बन्दै १५ हजार रुपैयाँ तथा सोनु कुमार द्वितीय उपविजेता बन्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

सन सेक्युरिटिजका अनुसार स्टक सिमुलेसनले विद्यार्थीलाई वास्तविक लगानीको जोखिम नलिई पूँजी बजारको व्यवहार बुझ्ने, लगानी रणनीति बनाउने र निर्णय क्षमता विकास गर्ने अवसर प्रदान गर्छ। यसले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्नसमेत सहयोग पुर्याउने कम्पनीको भनाइ छ।
युवा पुस्तामा वित्तीय साक्षरता तथा पूँजी बजारसम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सन सेक्युरिटिजले जनाएको छ। कम्पनीले आगामी दिनमा पनि विद्यार्थी तथा युवालाई लक्षित गर्दै पूँजी बजार शिक्षा र लगानीसम्बन्धी विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रतियोगिता सफल बनाउन सहकार्य गरेको इस्लिङ्टन कलेज र मनीमेज इस्लिङ्टन कम्युनिटीप्रति सन सेक्युरिटिजले आभार व्यक्त गरेको छ।