Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

बंगलादेशमा बैंकहरुको खराब कर्जा एक वर्षमै ८.१ प्रतिशत बिन्दुले बढ्यो

२०८३ भाद्र २९ गते

बैंकिङ खबर  /  बंगलादेशको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या झन् गम्भीर बन्दै गएको छ। मार्च २०२६ सम्ममा त्यहाँका बैंकहरुको समग्र खराब कर्जा अनुपात ३२.७ प्रतिशत पुगेको छ ।

एक वर्षअघि अर्थात् मार्च २०२५ मा बैंकिङ क्षेत्रको खराब कर्जा अनुपात २४.६ प्रतिशत थियो। यस अवधिमा खराब कर्जा ८.१ प्रतिशत बिन्दुले बढेको हो। यस्तै, डिसेम्बर २०२५ मा ३१.२ प्रतिशत रहेको खराब कर्जा अनुपात तीन महिनामै थप १.५ प्रतिशत बिन्दुले उकालो लागेको छ ।

बैंकको प्रकृतिअनुसार हेर्दा पूर्ण इस्लामिक बैंक सबैभन्दा बढी प्रभावित देखिएका छन्। मार्च २०२५ मा २९.२ प्रतिशत रहेको यी बैंकको खराब कर्जा एक वर्षपछि बढेर ५८.४ प्रतिशत पुगेको छ।त्यस्तै, चौथो पुस्ताका बैंकहरुको खराब कर्जा अनुपात ४४.४ प्रतिशतबाट बढेर ५२.२ प्रतिशत पुगेको छ। सरकारी स्वामित्वका वाणिज्य बैंकमा भने ४१.४ प्रतिशतबाट सामान्य वृद्धि हुँदै ४२ प्रतिशत पुगेको छ ।

विशेषीकृत बैंकको खराब कर्जा पनि उल्लेख्य रूपमा बढेको छ। एक वर्षअघि १३.५ प्रतिशत रहेको यस्तो कर्जा मार्च २०२६ मा ३७.५ प्रतिशत पुगेको छ।निजी वाणिज्य बैंकमा पनि खराब कर्जाको दबाब बढेको तथ्यांकले देखाएको छ। मार्च २०२५ मा २१.३ प्रतिशत रहेको खराब कर्जा अनुपात अहिले ३१ प्रतिशत पुगेको छ ।

निजी वाणिज्य बैंकभित्र तेस्रो पुस्ताका बैंकको खराब कर्जा १३ प्रतिशतबाट बढेर २९.८ प्रतिशत पुगेको छ। पहिलो पुस्ताका बैंकमा २७.६ प्रतिशतबाट ३४.४ प्रतिशत तथा दोस्रो पुस्ताका बैंकमा १४.१ प्रतिशतबाट १९.२ प्रतिशत पुगेको छ ।

यसको तुलनामा विदेशी बैंकको अवस्था भने केही सहज देखिएको छ। विदेशी बैंकको खराब कर्जा अनुपात मार्च २०२५ मा ५.८ प्रतिशत रहेकोमा मार्च २०२६ मा ६.३ प्रतिशत पुगेको छ।समग्र तथ्यांकले बंगलादेशको बैंकिङ क्षेत्रमा खराब कर्जाको जोखिम पछिल्लो एक वर्षमा तीव्र रूपमा बढेको देखाएको छ ।