Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

१९९ बैंक तथा वित्तीय संस्थाको अस्तित्व समाप्त, मर्जरपछि ५६ संस्था कायम

२०८३ भाद्र २६ गते

काठमाडौं / पछिल्लो दुई दशकमा बैंक तथा वित्तीय संस्थाको संख्या उल्लेख्य रूपमा घटेको छ । नेपाल राष्ट्र बैंकले अघि बढाएको मर्जर तथा प्राप्ति नीतिका कारण हालसम्म २५५ वटा बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिँदा ५६ वटा संस्था कायम भएका छन् ।

राष्ट्र बैंकका अनुसार मर्जर तथा प्राप्तिका क्रममा १९९ बैंक तथा वित्तीय संस्थाको छुट्टै अस्तित्व समाप्त भएको छ । बैंकिङ क्षेत्रमा संस्थाको संख्या घटाउने उद्देश्यले सुरु गरिएको मर्जर प्रक्रियाले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थालाई समेत समेटेको छ ।

वि.सं. २०६१ सालदेखि २०८३ सालसम्मको अवधिमा मात्रै वाणिज्य बैंकहरूमा १२८ वटा बैंक तथा वित्तीय संस्था मर्जर वा प्राप्तिको प्रक्रियामा सहभागी भएका छन् । तीमध्ये ११३ वटा संस्थाको अस्तित्व समाप्त भएर हाल १५ वटा वाणिज्य बैंक कायम भएका छन् । हाल सञ्चालनमा रहेका पाँच वाणिज्य बैंक भने मर्जर प्रक्रियामा सहभागी भएका छैनन् ।विकास बैंकतर्फ पनि मर्जरको प्रभाव ठूलो देखिन्छ । यस अवधिमा ३६ वटा बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएपछि ९ वटा विकास बैंक कायम भएका छन् ।

त्यस्तै, १६ वटा फाइनान्स कम्पनी मर्जर तथा प्राप्तिको प्रक्रियामा सहभागी भएर हाल ७ वटा फाइनान्स कम्पनी सञ्चालनमा छन् । लघुवित्त क्षेत्रमा भने ७५ वटा संस्था मर्जर तथा प्राप्तिमा सहभागी हुँदा २५ वटा लघुवित्त संस्था कायम भएका छन् ।

संख्या घटाउने नीतिले बदलियो बैंकिङ क्षेत्र

नेपालमा एक समय बैंक तथा वित्तीय संस्थाको संख्या तीव्र गतिमा बढेको थियो । वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले राष्ट्र बैंकले विभिन्न वर्गका बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएपछि बैंक तथा वित्तीय संस्था उल्लेख्य रूपमा थपिएका थिए ।

संस्थाको संख्या धेरै हुँदा प्रतिस्पर्धा, सञ्चालन लागत तथा वित्तीय स्थायित्वमा चुनौती देखिन थालेपछि राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राख्यो । संस्थाहरूलाई स्वेच्छिक रूपमा गाभिन प्रोत्साहन गर्नुका साथै विभिन्न चरणमा नियामकीय दबाबसमेत बढाइयो ।

मर्जर प्रक्रियाको सुरुवात वि.सं. २०६१ मा भएको देखिन्छ । लक्ष्मी बैंकले हाइसेफ फाइनान्सलाई गाभेर २०६१ साउन ११ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । त्यसपछि बैंक तथा वित्तीय संस्थाहरूबीच मर्जर तथा प्राप्तिको क्रम निरन्तर अघि बढेको हो ।

ग्लोबल आईएमईमा सबैभन्दा धेरै संस्थाको एकीकरण

हाल सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंकमा ठूलो संख्यामा बैंक तथा वित्तीय संस्था एकीकृत भएका छन् । कमर्ज एन्ड ट्रस्ट बैंक, जनता बैंक नेपाल र बैंक अफ काठमाण्डूजस्ता वाणिज्य बैंक यसमा गाभिएका छन् ।

यसका अतिरिक्त विभिन्न विकास बैंक तथा फाइनान्स कम्पनीसमेत ग्लोबल आईएमईमा समाहित भएका छन् । प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, सोसियल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंकलगायतका संस्था तथा आईएमई फाइनान्स र लर्ड बुद्ध फाइनान्सजस्ता फाइनान्स कम्पनीसमेत एकीकृत भएका छन् । हालसम्म करिब २१ बैंक तथा वित्तीय संस्था यस बैंकमा समाहित भइसकेका छन् ।

कुमारी बैंकमा पनि दुई दर्जन हाराहारी संस्था समाहित

कुमारी बैंकले पनि मर्जर तथा प्राप्तिमार्फत आफ्नो आकार विस्तार गरेको छ । सिभिल बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक कुमारी बैंकमा गाभिएका छन् ।त्यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक, देव विकास बैंक, एनडीईपी डेभलपमेन्ट बैंक, राइजिङ डेभलपमेन्ट बैंक, साझा विकास बैंक, वेस्टर्न डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, अन्नपूर्ण डेभलपमेन्ट बैंक, रारा विकास बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंकलगायतका संस्था पनि कुमारी बैंकमा समाहित भएका थिए । विभिन्न फाइनान्स तथा अन्य वित्तीय संस्था समेत जोडिँदा बैंकमा २१ वटा हाराहारी संस्था एकीकृत भएका छन् ।

प्रभु बैंकमा १४ संस्था एकीकृत

प्रभु बैंकले पनि मर्जर तथा प्राप्तिको माध्यमबाट आफ्नो व्यवसायिक आकार विस्तार गरेको छ । सेञ्चुरी कमर्सियल बैंक, किष्ट बैंक र ग्रान्ड बैंक नेपालजस्ता वाणिज्य बैंक प्रभु बैंकमा गाभिएका छन् ।

त्यस्तै, समृद्धि विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, सूर्य डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र गौरीशंकर डेभलपमेन्ट बैंकलगायतका विकास बैंक तथा विभिन्न फाइनान्स कम्पनी प्रभु बैंकमा समाहित भएका छन् । हालसम्म करिब १४ बैंक तथा वित्तीय संस्था प्रभु बैंकमा गाभिएका वा प्राप्ति भएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि ठूलो एकीकरण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक दुई ठूला वाणिज्य बैंकको एकीकरणबाट बनेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच मर्जर भएपछि यो बैंक सञ्चालनमा आएको हो ।यस बैंकमा विश्व विकास बैंक, गण्डकी विकास बैंक, पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, मातृभूमि विकास बैंक, कालिन्चोक डेभलपमेन्ट बैंक र एस डेभलपमेन्ट बैंकलगायतका विकास बैंक समाहित भएका छन् । जेबिल्स फाइनान्स, सिटी एक्सप्रेस फाइनान्सलगायतका फाइनान्स कम्पनी पनि यसमा एकीकृत भएका छन् ।

अन्य वाणिज्य बैंक पनि मर्जरको प्रक्रियामा

मर्जर तथा प्राप्तिको प्रक्रियाबाट आकार विस्तार गर्ने वाणिज्य बैंकमा नबिल, हिमालयन, सिटिजन्स इन्टरनेसनल, प्राइम कमर्सियल, सानिमा, माछापुच्छ्रे, एनआईसी एशिया, एनएमबी र सिद्धार्थ बैंकलगायत रहेका छन् ।

नबिल बैंकमा नेपाल बंगलादेश बैंकसँगै नेपाल बंगलादेश फाइनान्स, नेपाल श्रीलंका मर्चेन्ट फाइनान्स र युनाइटेड फाइनान्ससमेत समाहित भएका छन् ।यसरी दुई दशकभन्दा लामो अवधिमा भएको मर्जर तथा प्राप्तिले नेपालको बैंकिङ संरचनालाई ठूलो रूपमा परिवर्तन गरेको छ । धेरै साना तथा मध्यम आकारका बैंक तथा वित्तीय संस्थाको छुट्टै अस्तित्व समाप्त हुँदै ठूला र तुलनात्मक रूपमा बलिया वित्तीय संस्थाको संख्या बढेको छ ।

राष्ट्र बैंकले हालसम्म भएका मर्जर तथा प्राप्तिमा कुन बैंक तथा वित्तीय संस्था कुन संस्थामा गाभिएको हो भन्ने विस्तृत विवरणसमेत सार्वजनिक गरेको छ । उक्त विवरणलाई पीडीएफ तथा एक्सेल फाइलमा समेत हेर्न सकिने व्यवस्था गरिएको छ ।