Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
आजको विशेष

नबिल बैंकको उत्कृष्ट रिपोर्ट : नाफा ३४ प्रतिशत बृद्धि , लाभांश क्षमता पनि बढ्यो !

२०८३ श्रावण २१ गते

बैंकिङ खबर / नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दबाब बढिरहेका बेला नबिल बैंकले भने कर्जाको गुणस्तर सुधार गर्न सफल भएको छ । खराब कर्जा घटेसँगै सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने रकममा ठूलो कमी आएपछि बैंकको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँको तुलनामा ३३.५० प्रतिशत बढी हो ।

बैंकको नाफा वृद्धिलाई हेर्दा व्यवसाय विस्तारको योगदान भए पनि यसको सबैभन्दा महत्वपूर्ण आधार खराब कर्जा नियन्त्रण र त्यसका लागि गर्नुपर्ने प्रोभिजनिङमा आएको कमी देखिन्छ ।

अरु बैंकमा खराब कर्जा बढ्दा नबिलमा घट्यो

पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्जाको माग कमजोर हुनु, व्यवसायमा सुस्तता आउनु र ऋणीको भुक्तानी क्षमता प्रभावित हुनुका कारण धेरै बैंकमा खराब कर्जाको दबाब बढिरहेको छ ।

यस्तो अवस्थामा नबिल बैंकले भने खराब कर्जा घटाउन सफल भएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात अघिल्लो आर्थिक वर्षको ४.४८ प्रतिशतबाट घटेर गत वर्ष ४.२० प्रतिशतमा आएको छ ।

खराब कर्जाको अनुपातमा आएको यो सुधार बैंकको वित्तीय विवरणमा महत्वपूर्ण उपलब्धिका रूपमा देखिएको छ ।

नबिलको खुद निष्क्रिय कर्जा भने ०.५८ प्रतिशत मात्रै छ । त्यसमाथि बैंकले निष्क्रिय कर्जाको ११९.७३ प्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था गरेको छ ।

यसले बैंकले खराब कर्जाबाट सिर्जना हुन सक्ने सम्भावित जोखिमका लागि पर्याप्त सुरक्षा कवच बनाएको देखाउँछ ।

खराब कर्जा घट्दा प्रोभिजनिङमा ठूलो राहत

नबिल बैंकको नाफा बढ्नुको सबैभन्दा ठूलो कारण कर्जा नोक्सानी व्यवस्थामा आएको कमी हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले सम्भावित कर्जा नोक्सानीका लागि ४ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएको थियो । गत आर्थिक वर्षमा यस्तो रकम घटेर २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा झरेको छ ।

अर्थात्, एक वर्षमै बैंकको प्रोभिजनिङ करिब १ अर्ब ५२ करोड रुपैयाँले घटेको छ ।

कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने रकम घटेपछि बैंकको सञ्चालन आम्दानीको ठूलो हिस्सा नाफामा परिणत गर्न सहज भएको हो । त्यसैले नबिलको नाफा वृद्धिलाई केवल कर्जा विस्तारको परिणामका रूपमा हेर्नुभन्दा कर्जाको गुणस्तर सुधार र जोखिम व्यवस्थापनको उपलब्धिका रूपमा हेर्नुपर्ने देखिन्छ ।

कर्जा बढ्यो, तर ब्याज आम्दानीमा अपेक्षित वृद्धि भएन

नबिल बैंकले गत वर्ष व्यवसायको आकार भने उल्लेख्य रूपमा बढाएको छ । बैंकको निक्षेप ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँबाट १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा प्रवाह पनि १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

तर कर्जा विस्तारको अनुपातमा बैंकको खुद ब्याज आम्दानी भने बढ्न सकेको छैन । अघिल्लो आर्थिक वर्षमा १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ । कर्जा विस्तार भए पनि स्प्रेड दर ३.५७ प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा झरेका कारण ब्याज आम्दानीमा अपेक्षित वृद्धि हुन नसकेको हो ।

यसले अहिलेको बैंकिङ व्यवसायमा देखिएको अर्को चुनौती देखाउँछ कर्जा बढे पनि ब्याजदरको अन्तर खुम्चिँदा बैंकले त्यही अनुपातमा आम्दानी बढाउन सकिरहेका छैनन् ।

नाफा बढाउन कर्जा गुणस्तरको योगदान

नबिलको वित्तीय विवरणको सबैभन्दा रोचक पक्ष यही हो ।

एकातिर स्प्रेड घटेको छ । अर्कोतर्फ खुद ब्याज आम्दानी र फी तथा कमिसन आम्दानीमा सामान्य मात्रै वृद्धि भएको छ । तर पनि बैंकको खुद नाफा ३३ प्रतिशतभन्दा बढीले बढेको छ ।

यसको मुख्य कारण खराब कर्जा घट्नु र प्रोभिजनिङमा आएको ठूलो कमी हो ।

यसले बैंकिङ क्षेत्रमा अहिले कर्जा विस्तारभन्दा कर्जाको गुणस्तर र असुली क्षमता महत्वपूर्ण बन्दै गएको संकेत गर्छ । 

नयाँ कर्जा प्रवाह गरेर व्यवसाय विस्तार गर्नु मात्रै बैंकका लागि पर्याप्त हुँदैन । ऋणीले समयमै साँवा–ब्याज तिर्न सकेन भने बैंकको आम्दानी कागजमै सीमित हुन्छ र सम्भावित जोखिमका लागि प्रोभिजनिङ बढाउनुपर्छ । नबिलले गत वर्ष यही क्षेत्रमा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको देखिन्छ ।

लाभांश क्षमता पनि बढ्यो

नाफामा सुधार आएपछि बैंकको वितरणयोग्य नाफा र लाभांश क्षमता पनि बढेको छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यस आधारमा बैंकको प्रतिसेयर लाभांश क्षमता १९.१० प्रतिशत देखिएको छ । अघिल्लो वर्ष यस्तो क्षमता १४.२५ प्रतिशत मात्रै थियो ।

बैंकले गत वर्ष ५ अर्ब रुपैयाँ बराबरको पर्पेच्युअल नन्–क्युमुलेटिभ प्रिफरेन्स सेयर जारी गरेको थियो । त्यसको लाभांशका लागि २३ करोड ३४ लाख २५ हजार रुपैयाँ छुट्याएपछि बाँकी वितरणयोग्य नाफाका आधारमा १९.१० प्रतिशत लाभांश क्षमता देखिएको हो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि २१ रुपैयाँ ८९ पैसाबाट बढेर २८ रुपैयाँ ३६ पैसा पुगेको छ ।

अबको चुनौती सुधारलाई निरन्तरता दिनु

नबिलको पछिल्लो वित्तीय विवरणले खराब कर्जा व्यवस्थापनमा सुधार गर्न सके बैंकिङ क्षेत्रमा ब्याज आम्दानीको दबाबका बीच पनि नाफा बढाउन सकिने देखाएको छ ।

तर, खराब कर्जा घटेको भन्दै चुनौती पूर्ण रूपमा समाप्त भएको भने होइन । बैंकले अब कर्जा विस्तारसँगै यही गुणस्तर कायम राख्नुपर्नेछ ।

विशेषगरी बैंकिङ क्षेत्रमा आर्थिक गतिविधिमा अपेक्षित सुधार नआएको अवस्थामा नयाँ कर्जा प्रवाहसँगै भविष्यमा खराब कर्जा बढ्न सक्ने जोखिम कायमै हुन्छ । त्यसैले नबिलका लागि आगामी वर्षको मुख्य परीक्षा कर्जा विस्तार बढाउँदा पनि ४.२० प्रतिशतमा झरेको खराब कर्जालाई नियन्त्रणमै राख्नु हुनेछ ।

बैंकको आधार दर पनि ५.८३ प्रतिशतबाट घटेर ४.४४ प्रतिशतमा आएको छ । यसको अर्थ बैंकसँग तुलनात्मक रूपमा सस्तो लागतमा कर्जा विस्तार गर्ने आधार तयार भएको छ ।

तर, सस्तो ब्याजदरमा कर्जा विस्तार गर्दा जोखिमपूर्ण क्षेत्रमा अत्यधिक कर्जा जाने वा असुली कमजोर हुने अवस्था आयो भने अहिलेको सुधार उल्टिन सक्छ ।

बैंकिङ क्षेत्रमा नबिलको फरक तस्वीर

समग्रमा हेर्दा गत आर्थिक वर्षको वित्तीय विवरणले बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जाको दबाबबीच नबिल बैंकले भने तुलनात्मक रूपमा फरक तस्वीर प्रस्तुत गरेको छ । कर्जा बढेको छ, तर खराब कर्जा घटेको छ । स्प्रेड खुम्चिएको छ, तर नाफा बढेको छ । ब्याज आम्दानीमा सामान्य सुधार भएको छ, तर प्रोभिजनिङमा ठूलो कमी आएको छ ।

यही कारण नबिलको नाफा ३३.५० प्रतिशतले बढेको हो ।

यसबाट अहिलेको बैंकिङ बजारमा प्रतिस्पर्धाको केन्द्र केवल निक्षेप र कर्जा विस्तारमा मात्र सीमित नरहेको देखिन्छ । कर्जा कसरी असल बनाउने, जोखिम कसरी नियन्त्रण गर्ने र खराब कर्जा बढ्न नदिई आम्दानीलाई नाफामा कसरी रूपान्तरण गर्ने भन्ने विषय बैंकहरूको वास्तविक प्रतिस्पर्धा बन्न थालेको छ । नबिल बैंकले गत आर्थिक वर्षमा यही मोर्चामा तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको देखिन्छ । अब भने यो सुधार एक वर्षको वित्तीय परिणाममै सीमित रहन्छ वा आगामी वर्षहरूमा पनि कायम रहन्छ भन्ने कुराले बैंकको वास्तविक वित्तीय स्वास्थ्य निर्धारण गर्नेछ ।