२०८३ बैशाख १५ गते

वाणिज्य बैंकहरुको रिपोर्ट : नविल बैंकले ६ अर्ब कमाउँदा अरुले कति कमाए ?

बैंकिङ खबर / चालु आबको नौ महिना अर्थात चैत मसान्तसम्म बैंकहरुको सरदर नाफा बढेको छ । यो अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंकका रुपमा नविल बैंक देखिएको छ ।

सिद्धार्थ बैंक : चालु आर्थिक वर्षको नौ महिनाको रिपोर्ट अनुसार सिद्धार्थ बैंकले नाफा बढाएको छ । तेस्रो त्रैमाससम्म २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो । सो बेंकको यो नाफा २०.७८ प्रतिशतले बढेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा बैंकको ३ अर्ब १४ करोड ६७ लाख नाफा कमाएको छ । बैंकले गत बर्षको सोहि अवधिमा ४ अर्ब ५४ करोड नाफा आर्जन गरेको थियो । उक्त बैंकको नाफामा केही गिरावट आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १० अर्ब ३१ करोड ब्याज आम्दानी गरेको बैंकले अहिले ९ अर्ब ५७ करोड ९५ लाख आर्जन गरेको छ ।

ग्लोबल आईएमई बैंक : ग्लोबल आईएमई बैंकले यो अवधिमा ४ अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकले ४ अर्ब ४० करोड ११ लाख नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसरी हेर्दा सो बैंकको नाफामा केही गिरावट आएको छ ।

नबिल बैंक : नबिल बैंकले पनि नाफा बढाएको छ । उक्त बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ६ अर्ब बढी नाफा कमाएको छ । उक्त बैंकले ६ अर्ब ७६ करोड ४६ लाख नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिको नविल बैंकले ५ अर्ब ५ करोड १४ लाख नाफा आर्जन गरेको थियो।

हिमालयन बैंक : हिमालयन बैंकले पनि नाफा बढाएको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ७६ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड रुपैयाँ नाफा गरेको बैंकले ५२.४९ प्रतिशतले नाफाच बढाएको हो ।

कुमारी बैंक : कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनासम्म ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा अत्याधिक धेरै हो । नाफामा उक्त बैंकले १३६१ प्रतिशत वृद्धि गरेको छ । गत आवको सोही अबधिमा बैंकले २८ करोड ५८ लाख नाफा कमाएको थियो ।

लक्ष्मी सनराइज बैंक : लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको नौं महिनामा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गर्फरेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो बैंकले १ अर्ब ६५ करोड २१ लाख कमाएको थियो । बैंकले अघिल्लो बर्षको तुलनामा २३.३६ प्रतिशतले नाफा बढाएको छ ।

प्रभु बैंक : प्रभु बैंकको नाफा भने घटेको छ । चालु आर्थिक वर्षको नौ महिनामा प्रभु बैंकले ८५ करोड १५ लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८७ करोड ६० लाख नाफा गरेको थियो । अघिल्लो बर्षको सोही अबधिमा भन्दा उक्त बैंकको नाफा ५४.६१ प्रतिशतले कमी हो ।

एनआईसी एशिया : एनआईसी एशिया बैंकको पनि नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको नौ महिनामा उक्त बैंकले १४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख रुपैयाँ नाफा गरेको थियो । यो नाफालाई आधार मान्दा बैंकको नाफामा १०.५ प्रतिशत कमी देखिन्छ ।

सिटिजन्स बैंक इन्टरनेसनल : सिटिजन्स बैंक इन्टरनेसनलले यो नौ महिनामा १ अर्ब ३० करोड ६४ नाफा कमाएको छ । बैंकले गतबर्षको सोही अवधिमा ९६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । उक्त बैंकले ३५ दशमलव ८२ प्रतिशतले नाफा बढाएको छ ।

माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त बैंकले अघिल्लो बर्षको तुलनामा ५०.४२ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १० करोड नाफा आर्जन गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक : राष्ट्रिय वाणिज्य बैंकको नाफामा पनि बृद्धि भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बैंकले २ अर्ब ७६ करोड २० लाख नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले १ अर्ब २० करोड ४३ लाख कमाएको थियो ।

एनएमबी बैंक : एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब ६८ करोड ७८ लाख नाफा कमाएको छ । बैंकले गत बर्षको सोही अवधिमा २ अर्ब ३७ करोड ३३ लाख नाफा कमाएको थियो । उक्त बैंकको यो नाफा १३ं२५ प्रतिशतले बढेको हो ।

प्राइम कमर्सियल बैंक: प्राइम कमर्सियल बैंकको नाफा पनि बढेको छ । सो बैंकले ३८.५८ प्रतिशतले नाफा बढाएर ३ अर्ब ८ करोड ९३ लाख नाफा कमाएको छ ।

नेपाल एसविआई बैंक: नेपाल एसविआई बैंकले पनि नाफा बढाएको छ । उक्त बैंकले २१.४९ प्रतिशतले नाफा बढाएर १ अर्ब ४६ करोड बनाएको छ ।

यो अवधिमा स्टान्डर चार्टड बैंकले २ अर्ब ८ करोड नाफा कमाएको छ ।