२०८३ बैशाख ९ गते

पेट्रोलियम पदार्थसँगै उपभोग्य बस्तुको मुल्य आाकाशीयो

 

बैंकिङ खबर / मध्यपूर्वमा उत्पन्न भूराजनीतिक युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा हरेक बस्तुको मूल्य बढेको छ । पेट्रोलियम पदार्थको मूल्य अकासिएपछि अन्य बस्तुको पनि मूल्य बढेको हो । हवाई ढुवानीको मूल्य ५० प्रतिशतले बढाइएको छ भने अन्य सेवा र बस्तुको मूल्य पनि निकै उच्च पुगेको छ । इन्धनबाट सुरु भएको मूल्यबृद्धिले सर्बसाधारण मर्कामा परेका छन् ।

युद्ध चर्किंदै जाँदा त्यसले विश्वबजारमा असर पारेको छ। युद्धका कारणले अन्तर्राष्ट्रिय व्यापार, ढुवानी, उत्पादन तथा उपभोग्य वस्तुमा मूल्य दबाब उत्पन्न भएको छ। युद्धको प्रभावले पर्सियन गल्फ क्षेत्रको तेल आपूर्ति अस्थिर बनेको छ। स्ट्रेट अफ होर्मुज मार्गमा सुरक्षा जोखिम बढेसँगै महंगीको मारमा विश्व बजार पुगेको छ । तेल र ग्यासको मूल्य बढेसँगै उद्योग, यातायात र उत्पादन लागतमा वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा ऊर्जा स्रोतको मूल्य बढ्दा दैनिक उपभोग्य वस्तु, ढुवानी र उत्पादन क्षेत्रमा थप दबाब पर्न थालेको छ। तेल ढुवानीमा जोखिम बढेसँगै खाद्यान्न, तरकारी, दूध र निर्माण सामग्रीजस्ता दैनिक आवश्यक वस्तुमा मूल्य बढ्ने सम्भावना देखिएको छ।

मध्यपूर्वका देशहरू विश्वका महत्वपूर्ण व्यापारिक साझेदार हुन्। युद्धका कारण निर्यात आयात प्रक्रिया प्रभावित भएको छ। उद्योग र उत्पादन क्षेत्रमा लागत बढ्दा वस्तु मूल्यमा प्रत्यक्ष असर पर्छ। मध्यपूर्वमा कार्यरत लाखौं विदेशी कामदारको रोजगारी जोखिममा परेको छ। यदि युद्ध लामो समयसम्म जारी रह्यो भने रेमिट्यान्समा गिरावट आउन सक्नेछ, यसको प्रभावले संसारभरका देशहरूको अर्थतन्त्रमा असर पर्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले जलमार्ग बन्द गरेर अमेरिकालाई ‘ब्ल्याकमेल’ गरेको बताएका छन् । सिपिङ स्रोतका अनुसार, सो जलमार्ग पार गर्ने प्रयास गर्दा कम्तीमा दुईवटा जहाजमाथि गोली प्रहार भएको छ। अमेरीकाको कारण देखाउँदै इरानले शनिबार हर्मुज जलडमरूमा आफ्नो नियन्त्रण पुनः कडा बनाएको घोषणा गरेको छ। इरानले नाविकहरूलाई चेतावनी दिँदै यो महत्वपूर्ण जलमार्ग फेरि बन्द गरिएको बताएपछि अबस्था अन्यौल छ ।