२०८२ फाल्गुन १० गते

परियोजना धितो राखेर युवा तथा महिलालाई ५० लाख ऋण दिने कांग्रेसको घोषणा

बैंकिङ खबर / नेपाली कांग्रेसले ‘रोजगारी कांग्रेस’ अभियान भन्दै आगामी पाँच वर्षभित्र १५ लाख मर्यादित तथा उत्पादनशील रोजगारी सिर्जना गर्ने लक्ष्य घोषणा गरेको छ । उक्त पार्टीले मिसन रोजगारी मार्फत चार क्षेत्रमा विशेष जोड दिएको छ। सूचना प्रविधि, पर्यटन, कृषि र उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर रोजगारीका अवसर विस्तार गरिने, यी क्षेत्रलाई लगानी, पूर्वाधार र सीप विकाससँग जोड्दै आन्तरिक तथा निर्यातमुखी रोजगारी बढाइने उल्लेख गरेको छ। सरकारमा आए कांग्रेसले नयाँ सोच र नवप्रवर्तनशील परियोजना भएका युवा तथा महिलालाई परियोजनाकै धितोमा ५ देखि ५० लाख रूपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइने योजना सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार ११५ खर्ब रुपैयाँ नाघाउने लक्ष्य लिएको छ। उसले ५ वर्षमा १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने र सूचना प्रविधि क्षेत्रबाट रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । कांग्रेसले फार्म टु फ्याक्ट्रीु अभियान चलाउने र त्रिविविलाई राष्ट्रिय विश्वविद्यालय बनाउने पनि बताएको छ ।

काँग्रेसले १० बुँदे घोषणापत्रमा आर्थिक विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, र भ्रष्टाचार नियन्त्रण जस्ता विषय उल्लेख गरेको छ । निजी क्षेत्रलाई गाली गरेर दलालको ट्याग लगाउनु नहुने भन्दै कानुनको दायरामा बसेर नाफा कमाउनेलाई सम्मान गर्नुपर्ने जनाइएको छ । काठमाडौं–हेटौंडा जोड्ने सडक एक वर्षभित्र सबै समय आवागमन नरोकिने गरी स्तरोन्नतिको घोषणा गरिएको छ । पूर्वपश्चिम राजमार्ग विस्तार सम्पन्न, द्रुतमार्ग निर्माण सम्पन्न, बीपी राजमार्ग पुनर्निर्माणलाई गति दिनेसमेत कांग्रेसको घोषणापत्रमा छ । काँग्रेसले नेपाललाई विदेशी लगानीको आकर्षणको केन्द्र बनाउने भाषणले मात्र लगानी आउने नभई नीतिगत सुधार आवश्यक रहेको बताएको छ । यसका लागि १० लाखसम्मको आम्दानीमा कर नलगाइने उल्लेख छ । कांग्रेसले बढ्दो बेरोजगारी र युवा पलायनलाई रोक्न आगामी पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ। श्रम बजारमा वर्षेनी भित्रिने ३ देखि ५ लाख जनशक्तिलाई स्वदेशमै मर्यादित रोजगारी दिने कांग्रेसले उल्लेख गरेको छ ।