Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मातृभुमि र कालिञ्चोकलाई गाभेर टुरिजमले सुरु गर्यो एकीकृत कारोबार

२०७३ पुष २४ गते

सिन्धुलीको मातृभुमि विकास बैंक र दोलखाको कालिञ्चोक विकास बैंकलाई गाभेको टुरिजम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ७८ करोड ६९ लाख रुपैंयाँ चुक्तापुँजी भएको टुरिजमले पाँच करोड ५६ लाख रुपैयाँ चुक्तापुँजी भएको मातृभुमि र १० करोड ६० लाख रुपैंयाँ चुक्तापुँजी भएको कालिञ्चोकलाई गाभेर आइतबारदेखि टुरिजम डेभलपमेन्ट बैंककै नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबार शुभारम्भको औपचारिक उद्घाटन टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेलले आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच गरे । कार्यक्रममा तीनवटै संस्थाका संचालक समितिका अध्यक्षहरु, सदस्यहरु, कार्यकारी प्रमुखहरु तथा संस्थापक सेयरधनीहरुको उपस्थिती थिये । उक्त कार्यक्रममा बैंकका अध्यक्ष प्रा. डा. पुष्पराज कँडेलबाट प्राप्ति गरिएका दुवै बैंकका संचालक समितिका अध्यक्षहरु, सदस्यहरु तथा कार्यकारी प्रमुखहरुलाई उनीहरुको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो । 

कालिञ्चोक तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो भने मातृभूमि एक जिल्ला कार्यक्षेत्र भएको विकास बैंक हो । तीन वटै संस्था गाभिएर बनेको एकीकृत संस्थाको चुक्ता पुँजी ९१ करोड ९७ लाख ७१ हजार रुपैंया पुगेको छ । बैंकको कुल निक्षेप रु. १० अर्ब ५० करोड र कर्जा रु. ९ अर्ब २० करोड पुगेको छ । त्यसैगरी बैंकको कुल शाखा संख्या २२, एक्सटेन्सन काउन्टर – १, ए.टी.एम संख्या १२ र ग्राहक संख्या करिब १ लाख पुगेकोे छ ।

गत भदौ १५ गते तीनवटै बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी बिशेष प्रस्ताव पारित गरेका थिए । राष्ट्र बैंकबाट पुस ३ गते र कम्पनी रजिष्टारको कार्यालयबाट पुस २१ गते अन्तिम स्वीकृति पाएका थिए । 

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा टिकिरहन टुरिजमले असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्नेछ । यसका लागि बैंकले कालिञ्चोक र मातृभुमिसँग एकीकृत कारोबार सुरु भएपछिको चुक्तापुँजीको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । जसपश्चात् बैंकको चुक्तापूँजी १ अर्ब ८४ करोडको हाराहारीमा पुग्नेछ । 

बैंकले १९.८ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पनि अघि सारेको छ । बैंकले हाल कायम चुक्तापुँजी ७८ करोड रुपैयाँको १९.८ प्रतिशतले हुन आउने १४ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्न लागेको हो । बोनस सेयर, एक्विजिसन र हकप्रद सेयर पछि बैंकको चुक्तापुँजी एक अर्ब ९९ करोड ४४ लाख रुपैयाँ पुग्नेछ । बाँकी पुँजी वृद्धिका लागि बैंकले अन्य वित्तीय संस्थासँग मर्जरमा जाने विकल्प पनि खुला राखेको छ ।