२०८२ माघ २६ गते

कर्जा प्रवाह, जोखिम मूल्यांकन र डेटा सुरक्षामा विश्व बैंकको ऋण सहयोग।

बैंकिङ खबर / विश्व बैंकले नेपालका १ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्न ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत गरेको छ। यस परियोजनाले साना व्यवसायीहरूलाई पर्याप्त धितो नभए पनि ऋण पहुँच प्रदान गर्ने, जोखिम मूल्यांकन सहज बनाउने, र डेटा सुरक्षा बलियो बनाउने मुख्य उद्देश्य राखेको छ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डिभिजन निर्देशक डेभिड सिस्लेनले भने, “यस परियोजनाले DCGF (नेपालको निक्षेप तथा कर्जा सुरक्षा कोष) को क्षमता सुदृढ बनाउने मात्र होइन, बैंकहरूलाई साना व्यवसायीमा लगानी गर्न सजिलो र सुरक्षित वातावरण उपलब्ध गराउनेछ।”

खासगरी महिला उद्यमीहरूका लागि नयाँ सुविधा र सहुलियतहरू उपलब्ध गराइनेछ, जसले साना व्यवसायीहरूलाई ठूला बजार र विश्वव्यापी मूल्य श्रृंखलासँग जोड्ने अवसर प्रदान गर्नेछ। उनले भने, “यस पहलले वित्तीय समावेशीकरणलाई बढाउनेछ र रोजगारी सिर्जना तथा निजी क्षेत्रको नेतृत्वमा आधारित आर्थिक वृद्धिलाई बलियो बनाउनेछ।”

विश्व बैंकले यस परियोजनामार्फत कर्जा सूचना केन्द्रको प्राविधिक क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ। ऋण लिन चाहनेहरूको विवरण र क्रेडिट हिस्ट्रीलाई प्रविधिमार्फत दुरुस्त राख्ने, डेटा सुरक्षा र गोपनीयतालाई बलियो बनाउने, र बैंकहरूलाई जोखिम मूल्यांकनमा सहुलियत दिने काम यस परियोजनाको मुख्य हिस्सा हो।

दक्षिण एसियाका लागि विश्व बैंकका वरिष्ठ वित्तीय क्षेत्र विज्ञ सविनराज श्रेष्ठले भने, “पर्याप्त धितोको अभाव र सीमित कर्जा प्रवाहले साना उद्यमीहरूलाई सस्तो वित्तीय सेवामा पहुँचबाट वञ्चित गर्दै आएको छ। यस परियोजनाले त्यो समस्या समाधान गर्दै साना व्यवसायीहरूलाई ठूला बजार र अन्तर्राष्ट्रिय व्यापार प्रणालीमा जोड्नेछ।” अन्तर्राष्ट्रिय वित्त कोषले पनि यस पहललाई सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ।