बैंकिङ खबर / नेपाल आर्थिक पत्रकार संघले काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले एक-अर्कालाई गाली गरेर होइन, आफ्ना स्पष्ट र व्यावहारिक आर्थिक एजेन्डा स्थापित गरेर अघि बढ्नुपर्ने बताएका छन्। ढकालले अन्य दलको आलोचनामै सीमित हुने प्रवृत्ति मौलाउँदै गएको भन्दै त्यसले दलहरूलाई स्थापित गर्न नसक्ने स्पष्ट पारे।
उनका अनुसार हालसम्म कुनै पनि राजनीतिक दलको घोषणापत्रमा आर्थिक मुद्दा प्राथमिकतामा परेको देखिँदैन। ‘राजनीतिक दलका नेताहरू अर्को दललाई कमजोर देखाउनमै केन्द्रित छन्, आफ्ना एजेन्डा स्थापित गर्नतर्फ ध्यान गएको छैन,’ ढकालले भने।
ढकालले निजी क्षेत्रप्रति राजनीतिक दलहरूको धारणा अझै पनि नकारात्मक रहेको उल्लेख गर्दै त्यसको असर विभिन्न समयमा भोग्नुपरेको बताए। ‘निजी क्षेत्रले राज्यलाई गरेको योगदान, रोजगारी सिर्जना र कर भुक्तानीजस्ता महत्वपूर्ण पक्षमा राजनीतिक नेतृत्व र दलहरूले पर्याप्त चर्चा गरेका छैनन्,’। ‘मन्त्रालयहरूबीच समन्वयको कमी छ र निर्णय प्रक्रियामा दीर्घकालीन सोचभन्दा लोकप्रियता खोज्ने प्रवृत्ति हावी छ। यस्तो अभ्यासले राज्यलाई दीर्घकालीन क्षति पुर्याउने सम्भावना रहन्छ, तर चर्चा बटुल्नका लागि निर्णय गरिने प्रवृत्ति बढ्दो छ।’
अध्यक्ष ढकालले स्पष्ट पारे, ‘यदि राज्यले निजी क्षेत्रलाई पर्याप्त प्रोत्साहन र संरक्षण नदिने हो भने अर्थतन्त्र स्थिर र चलायमान रहन सक्दैन।’