Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

इन्जिनियर भरतकुमार आचार्य विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा !

admin २०८२ माघ १३ गते
सेयर:

बैंकिङ खबर/ भरतपुर महानगरपालिकामा कार्यरत रहँदा पदको दुरुपयोग गरी ठूलो परिमाणमा अवैध सम्पत्ति आर्जन गरेको ठहर भएपछि तत्कालीन वरिष्ठ इन्जिनियर (आठौँ तह) भरतकुमार आचार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आचार्यले सरकारी सेवामा प्रवेश गरेको २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्मको आय-व्ययको विस्तृत छानबिन गरिएको थियो। अनुसन्धानका क्रममा उनको आम्दानी र जीवनशैलीबीच ठूलो अन्तर देखिएको आयोगको निष्कर्ष छ।

छानबिन अनुसार तलब, भत्ता, जग्गा बिक्री, पत्नीको पारिश्रमिक, बैंक कर्जा तथा लगानीबाट प्राप्त प्रतिफलसमेत जोड्दा आचार्यको वैधानिक आम्दानी करिब ३ करोड ५१ लाख रुपैयाँ देखिएको छ। तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, बीमा शुल्क, सन्तानको शिक्षादीक्षा तथा विभिन्न कम्पनीमा गरिएको लगानीलगायत शीर्षकमा १० करोड २९ लाख रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेको पाइएको छ।

आम्दानीभन्दा करिब ६ करोड ७८ लाख रुपैयाँ बढी खर्च भएको देखिएपछि उक्त रकमको वैधानिक स्रोत खुल्न नसकेको अख्तियारको भनाइ छ। आयोगले आचार्यले आफ्नो पद र पहुँचको दुरुपयोग गर्दै अस्वाभाविक जीवनशैली अपनाएको र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी लिली सुवेदीको नाममा समेत लुकाएको निष्कर्ष निकालेको छ।

अख्तियारले आचार्यविरुद्ध करिब ६ करोड ७९ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना दुवै सजायको माग गरेको छ। साथै, सम्पत्ति विवरणमा गलत विवरण पेश गरेको आरोपमा थप सजायको मागदाबी पनि गरिएको छ।

यसै प्रकरणमा आचार्यकी पत्नी लिली सुवेदीलाई गैरकानुनी आम्दानीबाट खरिद गरिएका जग्गा तथा सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको आयोगले जनाएको छ। अख्तियारले स्रोत नखुलेको सम्पूर्ण सम्पत्ति जफत गरी दोषीलाई कडा कानुनी कारबाही गर्न विशेष अदालतसमक्ष अनुरोध गरेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।