२०८२ पुष १५ गते

प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको अंकुश, १ अर्ब ३० करोडको प्रोभिजन लगाइयो !

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार थप कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) राख्नुपरेपछि प्राइम कमर्सियल बैंकको नाफा घटेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने क्रममा राष्ट्र बैंकले १ अर्ब ३० करोड १२ लाख रुपैयाँ अतिरिक्त प्रोभिजन राख्न लगाएको हो।

बैंकले प्रारम्भिक अपरिस्कृत विवरणमा करिब १ अर्ब ४२ करोड रुपैयाँ प्रोभिजन देखाएको थियो भने अन्तिम लेखापरीक्षणपछि यो बढेर २ अर्ब ७२ करोड ७ लाख रुपैयाँ पुगेको छ। यससँगै लेखापरीक्षणअघि ४ अर्ब २ करोड ४४ लाख रहेको नाफा घटेर ३ अर्ब २० करोड ८ लाख रुपैयाँमा झरेको छ। खुद ब्याज आम्दानी वृद्धि भए पनि उच्च प्रोभिजनका कारण नाफामा दबाब परेको देखिन्छ।

अन्तिम नतिजाअनुसार बैंकको सञ्चित नाफा घटेर १ अर्ब ७३ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको पुँजी पर्याप्तता अनुपात ११.३३ प्रतिशत र निष्क्रिय कर्जा (NPL) ५.८१ प्रतिशत पुगेको छ। बैंकले २ खर्ब ६८ अर्ब निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेको छ।

गत वर्ष पनि राष्ट्र बैंकले बैंकलाई अतिरिक्त प्रोभिजन राख्न लगाएको थियो, जसका कारण त्यतिबेला पनि नाफामा अन्तर देखिएको थियो। लगातार देखिएका यस्ता फरकहरूले बैंकको नियामकीय पालना र विवरणको विश्वसनीयताप्रति प्रश्न उठाएको विश्लेषण गरिन्छ।