
बैंकिङ खबर/ साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार हरियो बनेको छ। नेपाल राष्ट्र बैंकले सेयर बजारमैत्री नीतिगत निर्णय गरेपछि बजारमा उत्साह देखिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बिहीबार २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुग्दै बन्द भएको छ। लगातार दुई दिन घटेको बजार आज पुनः सुधारिएको छ।
बिहान कारोबार खुलेको ३ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित भएको थियो। कारोबार पुनः खुलेपछि सूचक दोहोरो अंकले बढ्दै स्थिर गतिमा अगाडि बढेको हो।
नेपाल राष्ट्र बैंकले बुधबार मात्रै व्यक्तिगत सेयर धितो कर्जाको २५ करोड रुपैयाँको सीमा हटाउने र बैंक तथा वित्तीय संस्थाले सेयर खरिदपछि बिक्री गर्न पाउने लक-इन अवधि एक वर्षबाट घटाएर ६ महिना पुर्याउने निर्णय गरेको थियो।
यसअघि बैंक तथा वित्तीय संस्थाबाट अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै धितो कर्जा लिन सकिने व्यवस्था थियो, तर नयाँ नीतिपछि व्यक्तिले सीमाविहीन रूपमा धितो कर्जा लिन सक्ने भएका छन्। साथै, सेयर खरिदमा रहेको २० प्रतिशतको सीमा पनि हटाइएको छ।
बुधबार नेप्से सूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा पुगेको थियो भने ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो। आज भने ३१३ कम्पनीका १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँ पुगेको छ – जुन अघिल्लो दिनको तुलनामा केही कम हो।
आज २०० कम्पनीको सेयर मूल्य बढेको, ४१ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको छ। नेप्से दोहोरो अंकले बढे पनि आज कुनै पनि कम्पनीको सेयर मूल्यले सकारात्मक सर्किट ब्रेक पार गर्न सकेन।
विन्ध्यवासिनी हाइड्रोपावरको सेयर आज सबैभन्दा बढी ८.२१ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने ९.०९ प्रतिशतसम्मको घाटा व्यहोरेका छन्।
कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। कम्पनीको २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। क्षेत्रगत उपसूचकमा हेर्दा ट्रेडिङ समूहबाहेक सबै उपसूचक हरियो देखिएका छन्। विशेषगरी बैंकिङ, विकास बैंक, हाइड्रोपावर र म्युचुअल फन्ड समूहमा उल्लेख्य सुधार देखिएको हो।