बैंकिङ खबर / कुनै समय आक्रामक कर्जा विस्तार, शाखा सञ्जाल र बजार उपस्थितिका कारण चर्चामा रहने एनआईसी एशिया बैंक अहिले आफ्नै वित्तीय सूचकहरूको दबाबमा देखिएको छ। खराब कर्जा निरन्तर बढिरहेको छ, मुख्य आम्दानी घटिरहेको छ, सञ्चालन नाफा खुम्चिएको छ र पुँजीकोषमा समेत दबाब देखिएको छ। बैंकको पछिल्लो वित्तीय विवरणले यसको अवस्था सहज नरहेको संकेत गरेको छ।
रोचक पक्ष के छ भने बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको करिब एक वर्ष पुगेको छ । २०८२ कात्तिक १७ गते सञ्चालक समितिबाट चार वर्षका लागि सीईओ नियुक्त भएका सुजितकुमार शाक्यले कात्तिक २० गतेदेखि कार्यभार सम्हालेका थिए। तर, उनको नेतृत्वमा बितेको करिब एक वर्षको अवधिमा बैंकका महत्वपूर्ण वित्तीय सूचकमा अपेक्षित सुधार देखिएको छैन। बरु कतिपय सूचक थप कमजोर बनेका छन्।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपात ९.८१ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ६.९९ प्रतिशत थियो। एक वर्षमै खराब कर्जा २.८२ प्रतिशत विन्दुले बढेको हो।
खराब कर्जा झन्डै १० प्रतिशत पुग्नु बैंकका लागि सामान्य चुनौती होइन। यसले बैंकले प्रवाह गरेको कर्जाको गुणस्तर, ऋण असुली र जोखिम व्यवस्थापनको प्रभावकारितामाथि प्रश्न उठाएको छ। बैंकको कुल कर्जा पोर्टफोलियोको ठूलो हिस्सा समस्याग्रस्त हुँदै जाँदा आगामी दिनमा आम्दानी र पुँजी दुवैमा दबाब पर्न सक्ने जोखिम रहन्छ।
आम्दानी घट्दै, नाफा बढेको देखाउने आधार के ?
बैंकको खुद नाफा भने सामान्य बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा १२ करोड २२ लाख रुपैयाँ थियो। अर्थात् खुद नाफामा ४.३२ प्रतिशतको मात्रै वृद्धि भएको छ।
तर, नाफाको यो सामान्य वृद्धिभित्र बैंकको आम्दानी संरचनाले अर्कै कथा देखाउँछ। बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी १७.३६ प्रतिशतले घटेको छ। गत वर्ष पहिलो त्रैमासमा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष घटेर १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, बैंकको सञ्चालन नाफा १९ करोड ३५ लाख रुपैयाँबाट घटेर १६ करोड १४ लाख रुपैयाँमा झरेको छ। कुल सञ्चालन आम्दानीसमेत २ अर्ब ७७ करोड ९१ लाख रुपैयाँबाट घटेर २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ।
मुख्य आम्दानी र सञ्चालन नाफा दुवै घटिरहेका बेला खुद नाफा भने सामान्य बढेको छ। यसको एउटा महत्वपूर्ण कारण कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकममा आएको कमी हो । गत वर्ष पहिलो त्रैमासमा १ अर्ब १८ करोड ६५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष ९२ करोड ९४ लाख रुपैयाँमा झरेको छ। अर्थात् यस्तो खर्च २१.६६ प्रतिशतले घटेको छ। कर्जा नोक्सानी व्यवस्थाको खर्च घट्दा बैंकको नाफामा सकारात्मक प्रभाव परेको हो। यसले बैंकको नियमित बैंकिङ आम्दानीमा उल्लेख्य सुधार भएको निष्कर्ष निकाल्न दिँदैन। बरु मुख्य आम्दानी खुम्चिँदा पनि कर्जा नोक्सानी व्यवस्थाको खर्च घटेकै कारण नाफा सामान्य बढेको देखिन्छ।
पुँजीकोषमा दबाब, वित्तीय जोखिमको अर्को संकेत
एनआईसी एशियाको अर्को चिन्ताजनक पक्ष पुँजी पर्याप्तता अनुपातमा आएको गिरावट हो। गत वर्ष पहिलो त्रैमासमा १४.०३ प्रतिशत रहेको बैंकको कुल पुँजी पर्याप्तता अनुपात यस वर्ष घटेर ११.१२ प्रतिशतमा आएको छ। त्यस्तै, प्राथमिक पुँजी अनुपात ९.०३ प्रतिशतबाट घटेर ६.२७ प्रतिशतमा झरेको छ। पुँजीकोषमा आएको यस्तो गिरावटलाई सामान्य रूपमा लिन मिल्दैन। खराब कर्जा बढ्दै जाँदा जोखिम भारित सम्पत्तिमा पर्ने प्रभाव र सम्भावित कर्जा नोक्सानीले बैंकको पुँजीमा थप दबाब सिर्जना गर्न सक्छ।
बैंकको वितरणयोग्य नाफा पनि ठूलो ऋणात्मक अवस्थामा छ। असोज मसान्तसम्म यस्तो घाटा १५ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो ६ अर्ब २४ करोड रुपैयाँ थियो। यद्यपि, बैंकले परिपक्व ऋणपत्रसँग सम्बन्धित ६ अर्ब ७७ करोड रुपैयाँको सञ्चिति रकम पुँजी समायोजन सञ्चितिमा सारेको उल्लेख गरेको छ। उक्त समायोजनको प्रभाव गणना गर्दा वितरणयोग्य घाटा करिब ८ अर्ब ६२ करोड रुपैयाँ हुने बैंकको भनाइ छ।
त्यसैले वितरणयोग्य नाफाको तथ्यांक बुझ्दा लेखा समायोजनको प्रभाव र वास्तविक सञ्चालनबाट सिर्जित घाटालाई छुट्याएर हेर्नुपर्ने हुन्छ। तर, समग्रमा बैंकको लाभांश वितरण क्षमतामा दबाब कायमै रहेको स्पष्ट छ।
कर्जा विस्तारभन्दा असुलीको चुनौती ठूलो
बैंकको कर्जा विस्तारको अवस्था पनि कमजोर देखिन्छ। असोज मसान्तसम्म बैंकले ३ खर्ब ४१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब ९१ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत आर्थिक वर्षको असार मसान्तको तुलनामा कर्जा लगानी करिब ८१ करोड रुपैयाँले घटेको विवरण छ । बैंकले आफ्नो व्यवस्थापकीय विश्लेषणमा अर्थतन्त्रको शिथिलताका कारण कर्जाको माग न्यून रहेको उल्लेख गरेको छ। साथै बढ्दो निष्क्रिय कर्जा, गैरबैंकिङ सम्पत्ति बिक्रीमा ढिलाइ र घट्दो ब्याजदर अन्तरलाई आन्तरिक चुनौतीका रूपमा स्वीकार गरेको छ।
यसले बैंकले एकातिर नयाँ कर्जा विस्तारमा पर्याप्त अवसर नपाइरहेको र अर्कोतिर पुरानो कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सुधार्नुपर्ने चुनौती सामना गरिरहेको देखाउँछ ।
नयाँ सीईओको एक वर्ष : सुधारको परीक्षा
सुजितकुमार शाक्य बैंकिङ क्षेत्रमा करिब तीन दशकको अनुभव भएका बैंकर हुन् । एनआईसी एशियाको सीईओ नियुक्त हुनुअघि उनी नबिल बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । बैंकको मर्जर प्रक्रियादेखि विभिन्न बैंकको व्यवस्थापकीय जिम्मेवारीसम्मको अनुभव उनीसँग छ । यस्तो अनुभव भएको नेतृत्वबाट बैंकको वित्तीय अवस्था सुधार्ने अपेक्षा स्वाभाविक थियो । तर, उनको कार्यकालको पहिलो वर्ष पुग्न लाग्दा सार्वजनिक भएको वित्तीय विवरणले चुनौतीहरू अझै गम्भीर रहेको देखाउँछ।
सुधारका लागि अब के गर्नुपर्छ ?
एनआईसी एशियाका लागि अहिलेको प्राथमिकता आक्रामक व्यवसाय विस्तारभन्दा पनि खराब कर्जा नियन्त्रण, पुरानो कर्जा असुली, गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन र नियमित आम्दानी सुधार हुनुपर्ने देखिन्छ। खराब कर्जा बढ्दै जाने, ब्याज आम्दानी घट्ने र पुँजीकोषमा दबाब कायम रहने हो भने बैंकको वित्तीय अवस्था थप चुनौतीपूर्ण बन्न सक्छ। निक्षेपकर्ताको विश्वास कायम राख्नु, कर्जाको गुणस्तर सुधार्नु र आम्दानीको दिगो स्रोत विकास गर्नु व्यवस्थापनका लागि उत्तिकै महत्वपूर्ण हुनेछ । नयाँ सीईओको नेतृत्वमा एक वर्ष बित्न लाग्दा बैंकले वित्तीय स्वास्थ्य सुधारको स्पष्ट नतिजा देखाउन सकेको छैन। अब प्रश्न केवल बैंकले कति नाफा कमायो भन्ने होइन, बढ्दो खराब कर्जा नियन्त्रण गरेर आफ्नो वित्तीय अवस्था कति छिटो सुधार्न सक्छ भन्ने हो ।
अनुभवी व्यवस्थापकीय टिम बाहिरियो, नयाँ नेतृत्वको रणनीतिमाथि प्रश्न
बैंकको वित्तीय सूचक कमजोर देखिएको यही अवधिमा व्यवस्थापन तहमा पनि महत्वपूर्ण परिवर्तन भएको छ। सीईओ सुजितकुमार शाक्य नेतृत्वमा आएपछि बैंकको उच्च व्यवस्थापन संरचनामा पुनर्संरचना गरिएको छ। बैंकले २०८३ असोजमा सहायक प्रबन्धक र त्यसभन्दा माथिल्लो तहका कर्मचारीलाई लक्षित गरी १५ महिनाको तलब सुविधासहित स्वैच्छिक अवकाश योजना (भीआरएस) ल्याएको थियो।
उक्त योजनामार्फत डेपुटी सीईओ सन्तोषकुमार राठी, सहायक सीईओ अर्जुनराज खनियाँसहित ६ जना वरिष्ठ कर्मचारी बैंकबाट बाहिरिएका छन्। बैंकका अनुसार उनीहरूको राजीनामा स्वीकृत गरिएको थियो। लामो समय बैंकमै काम गरेका र संस्थाको आन्तरिक प्रणाली, कर्जा प्रवाह तथा जोखिम व्यवस्थापनबारे अनुभव हासिल गरेका कर्मचारी बाहिरिनु व्यवस्थापकीय दृष्टिले महत्वपूर्ण घटना हो। नयाँ नेतृत्व आएपछि व्यवस्थापन टिममा परिवर्तन हुनु अस्वाभाविक होइन। संस्थालाई नयाँ रणनीतिअनुसार अघि बढाउन नेतृत्वले आफ्नो टिम बनाउन सक्छ। तर बैंकजस्तो जोखिम संवेदनशील संस्थामा वर्षौँदेखि काम गरेका अनुभवी व्यवस्थापक बाहिरिँदा संस्थागत स्मरण, पुराना कर्जाको जानकारी, निर्णय प्रक्रियाको निरन्तरतामा बैंकका कर्मचारीलाई काम गर्न झन् समस्या थोपरीएको छ ।