बैंकिङ खबर/ अर्थमन्त्रीको बोल्ड डिसिजनसँगै सेयर बजार पुनः लयमा फर्किएको छ । जेनजी आन्दोलनसँगै थप अत्यासलाग्दो बनेको सेयर बजार आइतबार भने लयमा फर्किएको हो ।
जेनजी आन्दोलनपछिको पहिलो कारोबार दिन (बिहीबार) बजार सम्हाल्नै नसक्ने गरी घट्यो । लगातारको नेगेटिभ सर्किटपछि बिहीबार कारोबार नै बन्द भयो । हल्टका बिच १६०.३३ अंकले बजार घटेको थियो । जसबाट सेयर बजारका लगानीकर्ताहरू निकै त्रसित बनेका थिए ।
कारोबार बन्द भए लगत्तै लगानीकर्ताको विभिन्न समूह टोली नै बाँधेर अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न पुगेका थिए । अर्थमन्त्री खनाललाई लगानीहरूले आफ्नो व्यथा मात्रै सुनाएनन्, बजारलाई सम्हाल्ने उपाय पनि सुझाए ।
लगानीकर्ताहरूको समूहले अर्थमन्त्रीलाई बजार व्यवस्थित बनाउन ५ बुँदे सुझाव दिएका छन् । लगानीकर्ताहरूको सुझावका आधारमा अर्थमन्त्री खनालले तत्कालै धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशकको नेतृत्वमा ४ सदस्यीय कार्यदल गठन गरेका थिए । उनले ५ दिनको समय सीमा तोकेर कार्यदललाई कार्यादेश दिएका छन् ।
अर्थमन्त्रीले कार्यदलको प्रतिवेदन नआउँदै ठाडो निर्देशनका आधारमा नेप्सेको १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था हटाएका छन् । जसबाट लगानीकर्ता उत्साहित देखिन्छन् ।
उनले लामो समयदेखि उठ्दै आएको सेयर धितो कर्जामा लगाइएको २५ करोडको क्याप हटाउने पनि तयारी गरेका छन् । लगानीकर्ताहरूले विगतको सरकारले नियुक्त गरेको धितोपत्र बोर्ड अध्यक्ष, नेप्सेको अध्यक्ष र बिमा प्राधिकरणको अध्यक्षको नियुक्ति खारेज गर्न पनि माग गरेको छ । जसमा विवादित नभएका विज्ञहरूलाई नियुक्ति गर्न सुझाएको छ ।
आइतबार उछाल
नेप्से परिसूचक आइतबार भने उच्च अंकले बढेको छ। नेप्से परिसूचक १११.७० अंक बढेर २६२३ अंकमा कायम भएको हो। यसदिन ३२९ स्क्रिप्सको २ करोड ३२ लाख कित्ता सेयर ९ अर्ब १७ करोड ९५ लाख ७३ हजारमा खरदिबिक्री भयो।
निर्जीवन बीमा बाहेकका सबै सेक्टर बढेका छन्। व्यापार समूह सबैभन्दा धेरै ८.६६ प्रतिशत, बैंकिङ ४.५२, विकास बैंक ६.०७, फाइनान्स ५.५४, होटल तथा पर्यटन २.३३, हाइड्रोपावर ५.८३, लगानी ७.६८, जीवन बीमा ५.६६, उत्पादन तथा प्रशोधन ४.८५, माइक्रोफाइनान्स ३.६९ तथा अन्य १.५३ प्रतिशत बढेका हुन्।
९ वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। १० प्रतिशत मूल्य बढेका कम्पनीमा शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, अपी पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर छन्। निर्जीवन बीमा ४.०२ प्रतिशत घट्यो।
आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे। जेनजी आन्दोलनका कारण एक साताभन्दा बढी समय बन्द भएर गत बिहीबार खुलेको बजार १६० अंकले घटेको थियो।