
बैंकिङ खबर/ हिकास्ट कलेजका प्रिन्सिपल डा.श्रीराम नेउपानेले नेपालको कृषिक्षेत्रले पहिले अर्थतन्त्रमा ५० प्रतिशत योगदान दिएपनि हाल त्यो घटेर २५ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा मिडिया इन्टरनेशनल र बैंकिङ खबरको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले भने,‘कृषिले अर्थतन्त्र मात्र होइन, पर्यटनमा पनि महत्वपूर्ण योगदान पुर्याएको छ । कृषि वातावरण, संस्कृति र जीवनशैलीसँग जोडिएको विषय हो ।’ कृषिको योगदान मात्र कम भएको होइन, उत्पादन उपभोक्तासम्म पुग्न नसक्दा त्यसको श्रृंखलामै समस्या उत्पन्न भएको उनले बताए ।

उनले भने, ‘हामी उत्पादन गर्छौं, तर त्यो उत्पादन बजारसम्म पुग्दैन। मूल्य श्रृंखलामा पुग्न नसकेको यो मुख्य चुनौती हो ।’ डा. नेउपानेले नयाँ पुस्तालाई उद्यमशीलतामा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिँदै भने, ‘अबका विद्यार्थीहरू केवल रोजगारी खोज्ने होइन, आफैं उद्यमी बनेर अरूलाई रोजगारी दिने साेंचका साथ अघि बढ्नुपर्छ। मैले विद्यार्थीलाई निरन्तर यही आग्रह गरिरहेको छु ।’
सरकार एक्लै केही गर्न सक्दैन भन्ने उल्लेख गर्दै उनले निजी क्षेत्रको संलग्नता अनिवार्य रहेको बताए। ‘सार्वजनिक–निजी सहकार्यबिना कृषि, उद्योग वा कुनै पनि क्षेत्रमा दीगो परिवर्तन सम्भव छैन,’ डा. नेउपानेले भने । कार्यक्रममा उनले कृषिका विविध पक्षबारे प्रकाश पार्दै नीति, शिक्षा र उद्यमशीलताको त्रिकोणात्मक सम्बन्ध निर्माण गर्नुपर्ने बताए ।




