
बैंकिङ खबर/ लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले नेपाललाई ‘सम्भावना नै सम्भावनाको देश’ भन्दै अब नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्। काठमाडौंमा मिडिया इन्टरनेशनल र बैंकिङ खबरको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको उद्घाटन कार्यक्रममा यादवले भने, ‘विकास गाउँमा पुगेको छ, तर त्यहाँ काम गर्ने र उपभोग गर्ने जनशक्ति भने छैन। मानिसहरूलाई गाउँमै अड्याउने विषयमा अब गम्भीर सोंचविचार गर्नुपर्ने बेला आएको छ ।’
उनले नीति, कार्यक्रम र बजेटले मात्रै परिवर्तन सम्भव नहुने भन्दै कार्यान्वयन पक्षको जोडदिनुपर्ने बताए । ‘जबसम्म गाउँ–गाउँमा व्यक्ति उद्यमशील बन्न सक्दैन, तबसम्म बजेटले मात्रै नतिजा ल्याउन सक्दैन’उनले स्पष्ट पारे। नेपालको भूगोल, उत्पादन क्षमता र स्रोतहरूको विविधता उल्लेख गर्दै उनले भने, ‘हरेक ठाउँमा सम्भावना छ। तर प्रश्न यो हो – उत्पादन भएको वस्तु यही खपत हुन्छ त ? किन हामी अधिकांश चिजहरू विदेशबाट आयात गर्दैछौं ?’
उनले उद्यमशीलताको सोचको विकास आवश्यक रहेको बताए । ‘केही पनि छैन भनेर गुनासो गर्नुको सट्टा, आफूलाई कसरी उद्यमशिलतातर्फ लैजाने भन्नेमा सोच्नुपर्छ। व्यवसायमा सीमा हुँदैन–जहाँ इच्छाशक्ति छ, त्यही बाटो खुल्छ,’ यादवले बताए ।

लघुवित्त सेवाको पहुँचबारे चर्चा गर्दै उनले भने, ‘लघुवित्त अहिले ६० लाख घरधुरीमा पुगिसकेको छ। घरघरमा सेवा दिइरहेका छौं, गरिब र कमजोर परिवारलाई सशक्तिकरणको यात्रामा जोडिरहेका छौं। विशेषगरी महिलालाई व्यवसाय र रोजगारीसँग जोडिएको छ।’
उनले तीन वटै तहको सरकारलाई स्थानीय उद्यमशीलता प्रवद्र्धनमा लघुवित्तलाई समावेश गर्न आग्रह गरे । ‘स्थानीय सरकारको उद्यमशिलता कार्यक्रम, प्रदेश र संघीय तहको संयन्त्र मिलाएर लघुवित्तलाई नीति र संस्थागत समर्थन दिन सके कृषिमा ठूलो परिवर्तन सम्भव छ,’ उनले भने । उनले थपे,‘नेपाल सम्भावना नै सम्भावनाको ठाउँ हो। इच्छा र लगनशीलता भयो भने परिवर्तन सम्भव छ। अबको आवश्यकता भनेको साच, नीति र कार्यान्वयनको त्रिवेणी मिलाउनु हो।’




