Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालमै केही गर्न सकिन्छ, राज्यले बाटो देखाएको छः भगवती चौधरी

२०८२ असार २ गते

बैंकिङ खबर/ पूर्व मन्त्री एवं सांसद भगवती चौधरीले नेपालमा नै युवाहरूलाई उद्यमशील र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै राज्यले नीति तथा कार्यक्रममार्फत आशाजनक पहलहरू ल्याएको बताएकी छन् ।

काठमाडौंमा मिडिया इन्टरनेशनल र बैंकिङ खबरको ‘काम गरौं आफ्नै देशमा’ उद्घाटन कार्यक्रमको दोस्रो सेसनमा उनले भनिन्, ‘आज कृषि इको सिस्टमबारे धेरै कुरा हुन्छ, तर यथार्थमा सरकारी र गैरसरकारी संस्थाबाट कति लगानी भयो, कति किसानले वास्तविक रुपमा कृषि गरिरहेका छन् भन्नेतर्फ गम्भीर मूल्यांकन हुन सकेको छैन ।’

उनका अनुसार, दोस्रो पुस्ताले कृषिमा ध्यान नदिने अवस्था आउँदा देश छाड्ने प्रवृत्ति बढिरहेको छ । ‘बच्चाहरु हुर्कर्दै जाँदा कुन देश जाने भनेर सोध्नुपर्ने अवस्था आउँछ, अहिले विपन्नहरु कतार, दुबई, साउदी जाने स्थिति छ भने युवा पढेलेखेका युरोप र अमेरिका जाने स्थिति छ, तर त्यही पुस्तालाई नेपालमै कसरी राख्ने भन्ने सवालमा अहिले नीति तथा कार्यक्रमले केही सकारात्मक पहलहरू देखाएको छ,’ चौधरीले भनिन्।

सरकारको बजेट वक्तव्यमा उल्लेख भएको युवा र महिलालाई लक्षित गर्दै ३ लाखदेखि २० लाखसम्म ३ प्रतिशत ब्याजमा ऋण दिने प्रावधानलाई उदाहरण दिँदै चौधरीले भनिन्, ‘यदि सही ढंगले कार्यान्वयन भयो भने ५ वर्षभित्र नेपालमै धेरै युवाले केही गर्न सक्छन् ।’

कृषि, उद्योग, व्यवसाय र आइटी क्षेत्रलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उनले स्थानीय तहका प्रयास पनि सराहनीय रहेको बताइन् ।

‘७५३ वटै स्थानीय तहमा उद्यम शाखा छ। किसानको तथ्यांक राख्न थालिएको छ। यो निकै सकारात्मक हो,’ उनले भनिन्। चौधरीले नेपालमा टुरिजम र आइटी क्षेत्र युवा आकर्षणका मुख्य क्षेत्र हुन सक्ने बताउँदै नयाँ पुस्तालाई आइटीमा डोहोर्याउनुपर्नेमा जोड दिइन्।

उनले सहकारी र लघुवित्तको क्षेत्रमा देखिएको विकृति–विसंगतिबारे पनि आलोचना गरिन् । ‘मिटरब्याजी, लघुवित्त पीडित, सहकारीको रकम अपचलनले समस्या उत्पन्न भएको छ, यद्यपि, सबै लघुवित्त, सहकारी खराब छैनन् भन्ने पनि बुझ्नुपर्छ,’ उनले भनिन् ।

सहकारी नियमन विधेयक, लघुवित्त सम्बन्धी सुधारका प्रयास, तथा स्वरोजगार अभिवृद्धि गर्ने नीतिहरू अहिलेको समयको आवश्यकता भएको उनको धारणा छ । उनले थपिन्, ‘राज्यको नीति कार्यान्वयनसँगै जनस्तरमा सचेतना बढ्न जरुरी छ ।’

 

Ad