
बैंकिङ खबर/ ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालटानका अध्यक्ष सागर पाण्डेले नेपालका विविध क्षेत्रहरू निर्माण, टेक्नोलोजी, कृषि र पर्यटनमा अपार सम्भावना हुँदाहुँदै पनि अझै बहसमै सीमित रहने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएका छन्।
मिडिया इन्टरनेसनलको ‘काम गरौं आफ्नै देशमा’ शुभारम्भ कार्यक्रम अन्तर्गत दोस्रो सेसनको कार्यक्रममा उनले भने, अब सम्भावनाको चर्चा गरेर समय खर्च नगरी स्पष्ट एक्सन प्लान बनाउने र त्यसअनुसार अघि बढ्ने बेला आएको छ । ठूला व्यवसायीका लागि बजेट आउँछ तर साना संयन्त्रहरू चल्न सक्दैनन् । सबै क्षेत्रमा काम भइरहेको छ भन्ने सन्देश दिन एक्सन क्रिएट गर्न सक्नुपर्छ ।’
बैंकिङ प्रणालीको सुधार अपरिहार्य
पाण्डेले बैंकिङ प्रणाली सबल नहुँदासम्म नेपालमा दीगो आर्थिक क्रियाकलाप सम्भव नहुने बताए । सबैका लागि सहज पहुँच (एक्सेस) नभएसम्म निजी क्षेत्र विकासमा अवरोध हुने धारणा व्यक्त गर्दै उनले कोल्याट्रल बिना पनि लगानी र व्यवसाय विस्तार सम्भव हुने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
विदेशी लगानी र राष्ट्रवाद
उनले विदेशी लगानी नेपाल आउने बित्तिकै ‘राष्ट्रवाद’ को कुरा उठ्ने चलनप्रति पनि चिन्ता व्यक्त गरे । ‘राष्ट्रवाद भनेको अवरोध होइन, तर विकासमै बाधा पु¥याउने राष्ट्रवाद खतरनाक हो,’पाण्डेले भने।
नेपालको भविष्य पर्यटनमै
उनले नेपालको भविष्य पर्यटनसँग गाँसिएको उल्लेख गरे । ‘एक जना पर्यटक नेपालमा आउँदा औसत ११.५ जनाले रोजगारी पाउँछन्,’ भन्दै पाण्डेले पर्यटन विकासले सबै उद्योगलाई तान्ने शक्ति भएको दाबी गरे ।
‘फरेन करेन्सी ल्याउन, स्थानीय रोजगारी सिर्जना गर्न र निजी क्षेत्रलाई चलायमान बनाउन पर्यटनले ठूलो भूमिका खेल्छ,’ उनले भने। तर यसको लागि मुख्य पूर्वाधार (इन्फ्रास्ट्रक्चर) को विकास अपरिहार्य रहेको उनले स्पष्ट गरे।
निजी क्षेत्र र राजनीतिक दल
पाण्डेले निजी क्षेत्रलाई अगाडि ल्याउनका लागि राजनीतिक दलहरूबीच सहकार्यको आवश्यकता औंल्याए । ‘राज्यले मानसिकता बदल्न सक्यो भने नेपालमा धेरै सम्भव छ,’ उनले भने।




