Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चालू खाता साढे २ खर्ब ५५ अर्बले बचतमा, शोधनान्तर स्थिति ४ खर्ब बढी

२०८२ जेष्ठ २७ गते


बैंकिङ खबर/ चालू खाता साढे दुई खर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक हेर्दा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड रहेको थियो ।

यसैगरी, यस अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ७ अर्ब ५ करोड रहेको थियो ।

चालू आवको दश महिनासम्मको अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।