२०८२ जेष्ठ १५ गते

पुँजीगत लाभकर यथावत : सेयर बजारबारे के–के समेटियो बजेटमा

बैंकिङ खबर/ आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्। उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ, जसले पुँजी बजारलाई थप पारदर्शी, सक्षम र भरपर्दो बनाउनेछ।

धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गर्दै नागरिक लगानीकर्ताको हित संरक्षणमा विशेष ध्यान दिने योजना सरकारले ल्याएको छ। लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न र उनीहरूको सहभागिता बढाउन सरकारले आवश्यक सुधार गर्ने जनाएको छ।

सूचीकृत कम्पनी तथा संस्थागत लगानीकर्ताहरूले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा जारी हुने पुँजी ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहज वातावरण बनाइनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न कानुनी संरचना तयार गरिनेछ, जसले नयाँ लगानी सम्भावनाहरू खोल्ने विश्वास गरिएको छ।

सरकारी ऋणपत्रहरूको दोस्रो बजार कारोबार सुरू गरिनेछ। साथै, गैर-आवासीय नेपाली (NRNs) लाई पनि दोस्रो बजारमा कारोबार गर्न अनुमति दिइने छ, जसले वैदेशिक लगानी प्रवाहलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। अर्थमन्त्री पौडेलले यी सबै कदमहरूले नेपालको पुँजी बजारलाई व्यवस्थित, सशक्त र लगानीमैत्री बनाउनेमा सरकार दृढ रहेको बताएका छन्।

पुँजी बजारको पुँजीगत लाभकर यथावत

शेयर बजारका पुँजीगत लाभ कर बढाउने हल्लाका बिच अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत लाभकरलाई यथावत राखेका छन् ।

अहिले १ वर्षभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले शेयरको पुँजीगत लाभकरमा साढे ७ प्रतिशत र १ वर्षभन्दा बढी होल्ड गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभ कर तिर्नुपर्ने व्यवस्था छ । अर्थ मन्त्रालय स्रोतका अनुसार प्रस्तुत विधेकयमा यो करलाई यथावत राखिएको छ ।