भारु पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध घोषणा गरेको ४४ दिनपछि प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक आफ्नो संसदीय क्षेत्र बाराणसी जाँदैछन् । ‘बूथ कार्यकर्ता सम्मेलन’लाई सम्बोधन गर्न उनी बाराणसी जान लागेका हुन् । साथमा उनले अन्य थुप्रै कार्यक्रममा पनि भाग लिने बताइएको छ ।
प्रधानमन्त्री आफ्नो चुनावी क्षेत्रमा जाँदैछन् । यसकारण स्वभाविक रुपमा स्वागत त हुन्छ नै । तर के नोट प्रतिबन्धप्रति बनारसीहरुको धारणा के छ ? भन्ने विषयमा उनले जानकारी पाउलान् ?
नोटबन्दीको फैसला भएदेखि आजसम्म बनारसका बैंक अगाडि लामो लाइन लागेको छ, जहाँ मानिसहरु आफूले आफूलाई धिक्कारिरहेका देखिन्छन् ।
बाराणसीको गोलघरस्थित यूनियन बैंकको शाखामा लाइनमा लागेका दीपक मालबीय भन्छन्, ‘मोदीको फैसलाले जनतालाई दुःख थपिदिएको छ । कतिपय जनताले त केन्द्र सरकारको तुलना त्यो शासकसँग गरे जसले भारतको राजधानीलाई कहिले दिल्ली र कहिले दौलताबादमा सारेका थिए ।’
आफ्नो बृद्ध र विरामी आमाको भत्ताको ५०० रुपैयाँ बैंकमा जम्मा गर्न आएकी नीतु सिंह थुप्रै घण्टा बैंकमा बसेर धक्का खाइरहेकी थिइन् । किनकि, उनीसँग पुरानो पाँच सयको नोट थियो र बैंकका कर्मचारीले उनलाई निवेदन लेखेर बैंकको अलगअलग काउन्टरमा हस्ताक्षर गर्नुपर्ने बताएका थिए । नीतु भन्छिन्, ‘म नोटबन्दीको फैसलाको पक्ष र विपक्ष दुबैमा छु । किनकि, यो फैसलाका कारण वृद्धवृद्धाले धेरै सास्ती पनि खेप्नु परिरहेको छ ।’
त्यस्तै, साडी व्यवसायी अतुल गुप्ता भन्छन्, ‘नोटबन्दीको फैसलाका कारण ती व्यक्तिलाई बढी समस्या छ, जोसँग धेरै पैसा छ । किनकि मध्यमवर्गीय जनतासँग पुरानो नोट त्यति धेरै छैन । तर, दैनिक आवश्यकताका लागि भने समस्या भइरहेको छ ।’ उनका अनुसार, केन्द्र, राज्य सरकार वा स्थानीय प्रशासनले जनतालाई भइरहेको समस्यामाथि मध्यनजर गर्दै कुनै समाधान निकाल्नुपर्छ ।
सडकमा घुमफिर गर्दै खेलौना र बासुरी बेच्ने नबाबलाई नोटबन्दीले चिन्ता थपदिएको छ । कुनैबेला दैनिक रुपमा चार सयदेखि छ सयसम्म कमाई गर्ने गरेका उनी आजकल मुस्किलले एक सय रुपैयाँ कमाउँछन् । ‘आजकल मानिससँग पैसा नै छैन, बच्चाहरुका लगि खेलौना कसरी किन्छन् ?’ उनले दुःखी हुँदै भने, ‘परिवार चलाउनै मुस्किल छ ।’
समस्याका बाबजुद नोटबन्दीको फैसला राम्रो
यता, फूल बेच्ने दीपक माली भने यो समस्याको अन्त्य छिटै हुनेमा विश्वस्त छन् । उनी भन्छन्, नोटबन्दीका कारण एक तिहाई कारोबार घटेको छ । केही समयअघि विवाहको मौसममा यसअघि हुने गरेको कारोबारको २५ प्रतिशत मात्रै कारोबार भयो । राज्यले ठलो फैसला लिँदा अलिअलि समस्या त भइहाल्न नि । मलाई विश्वास छ, आगामी दिनमा सुधार हुनेछ ।’
बाराणसीको सिकरौल गाउँमा लाइटिङको काम गर्ने दिनेश बर्मा पनि नोटबन्दीको पक्षमा छन् । उनी भन्छन्, ‘विवाहको सिजनमा यसअघिको तुलनामा ३० देखि ४० प्रतिशत कम व्यापार भएको छ । तर पनि नोटबन्दीको फैसला राम्रो छ । किनकि, यो फैसलाले कालोधन बाहिर ल्याउनेछ ।’ गत ८ नोभेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएका थिए । (बीबीसी हिन्दीबाट अनुवादित )




