Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बढ्न थल्यो कर्जाको मागः ब्याजदर बढ्ने संकेत

२०८१ माघ २४ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न थालेको छ । पुसदेखि कर्जाको माग बढ्न थालेकामा माघ महिनामा समेत निरन्तरता पाएको छ। यसले ब्याजदर बढ्ने संकेत देखिएको छ । पुसको पहिलो २१ दिनमा बैंक तथा वित्तीय संस्थाहरुबाट ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो भने माघ २१ सम्म आइपुग्दा थप ५९ अर्ब ऋण लगानी भएको छ ।

कर्जा प्रवाहमा सुधारसँगै बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकमा राख्ने पैसा घटाउन थालेका छन्। तरलता फालफालका कारण बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजदरमा पैसा राख्दै आएका थिए। बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुविधा (एसडीएफ) उपकरणमार्फत तरलता खिच्ने गर्छ।

बैंकिङ क्षेत्रमा अधिक तरलता रहेको अवस्थामा अल्पकालीन ब्याजदर मौद्रिक नीतिले तय गरेको लक्ष्यभन्दा कम नहोस् भन्ने उद्देश्यले बैंकहरुलाई तरलता पार्किङ गर्न यस्तो सुविधा दिइएको हो। कर्जा प्रवाहमा सुधार, आयातमा बढोत्तरी र रेमिटेन्स वृद्धिदरमा गिरावटका कारण बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा पार्किङ गर्ने तरलता घटाउन थालेका हुन्।

गत आइतबार राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ पैसा उठाउन सूचना निकाल्यो। त्यसका ३ वटा बैंक तथा वित्तीय संस्थाहरुले जम्मा १५ अर्ब १० करोड रुपैयाँका लागि मात्रै आवेदन दिए। यसअघि राष्ट्र बैंकले पैसा संकलनका लागि बोलकबोल गर्दा तरलता फालाफालका कारण मागभन्दा बढी आवेदन पर्ने गरेको थियो। गत साउनमा एकैदिन ३ खर्ब ७२ अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका बैंक तथा वित्तीय संस्थाले अहिले त्यतातिर लगानी घटाउन थालेका छन्।

पछिल्लो समय सरकारी विकास ऋणपत्रको ब्याजदर ५ प्रतिशत माथि पुगेको छ। गत मंसिरमा ३.७९ प्रतिशत रहेको विकास ऋणपत्रको ब्याजदर माघ लागेपछि ५ प्रतिशत माथि पुगेको हो। माघ २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा २ खर्ब ६८ अर्ब रुपैयाँ राखेका छन्। त्यसमध्ये २ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण र बाँकी ४७ अर्ब ६५ करोड रुपैयाँ एसडीएफमा लगानी गरेका हुन्।