सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले अब आफ्नै खाता भएको बैङ्कबाटै सोझै लगानी गर्न सक्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन लागेको ‘आस्वा’(एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउण्ट) प्रणालीले लगानीकर्तालाई आफ्नो खाता रहेको बैङ्कबाट नै शेयरमा सहज रुपमा लगानी गर्न मार्गप्रशस्त गर्न लागेको हो । बोर्डले आगामी माघ १ गतेदेखि सो प्रणाली लागू गर्ने भएको छ । यसबाट लामो लाइन बस्नुपर्ने, धितोपत्रको प्रमाणपत्र पाउन ७० दिनभन्दा बढी कुर्नुपर्ने र आफ्नै रकम प्राप्त गर्नसमेत लामो समय लाग्ने अवस्थाको समेत अन्त्य हुनेछ । भारतमा सन् २००८ मा शुरु भएको सो प्रणाली पूर्ण कार्यान्वयनमा आउन आठ वर्ष लागेको थियो ।
बिहीवार राजधानीमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पहिलो चरणमा ‘क’ वर्गका बैङ्कमार्फत सो प्रणाली लागू र त्यसपछि ‘ख’ वर्गका बैङ्क तथा वित्तीय संस्था र मर्चेण्ट बैङ्कमा सो प्रणाली लागू गरिने जानकारी दिए । धितोपत्र बजारलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउन बोर्डले नयाँ नयाँ प्रविधि सञ्चालनमा ल्याइरहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले भारत र बङ्गलादेशको अनुभवलाई समेत हेरेर नेपालमा आस्वा प्रणाली लागू गर्न लागिएको बताए ।
नयाँ प्रणाली लागू भएपछि २० दिनभित्रै लगानीकर्ताले प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् भने शतप्रतिशत ब्याज पनि पाउनेछन् । हाल विभिन्न शुल्कका नाममा काटिँदै आएको रकमसमेत बचत हुनेछ । धितोपत्र बजारमा एशियाली विकास बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषलाई पनि नेपाली मुद्रामा नै लगानी गर्न दिन लागिएको जानकारी दिँदै उनले बजारलाई व्यवस्थित बनाउने र अन्तरराष्ट्रिय क्षेत्रसम्म विस्तार गर्ने योजना रहेको बताए । नेपाल राष्ट्र बैङ्क, नेपाल स्टक एक्स्चेञ्ज, बैङ्कर्स सङ्घलगायतका सुझावका आधारमा नै आफूहरु अगाडि बढिरहेको स्पष्ट पार्दै उनले शेयर बजारलाई व्यवस्थित बनाउने दायित्वबाट कोही पनि भाग्न नमिल्ने उल्लेख गरे ।
बोर्डका कार्यकारी निर्देशक परिष्ठ पौड्यालले पहिलो चरणमा ऐच्छिक रुपमा सो प्रणाली लागू हुने र बिस्तारै अनिवार्य गरिने बताए । सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बजार व्यवस्थित बनाउन अपनाइने सबै उपायलाई बैङ्कर्स सङ्घले अक्षरशः लागू गर्ने बताए । रासस


