रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आइतबार सम्पन्न चौथो साधाराणसभाले उक्त हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।
लमजुङको वेसिशहरमा केन्द्रीय कार्यालय स्थापना गरी ०७० जेठ २५ गतेदेखि सञ्चालनमा आएको रिलायवल माइक्रोफाइनान्सको कार्यक्षेत्र हाल १० जिल्ला रहेकोमा तत्काल ५ जिल्ला थप गरी १५ जिल्ला बनाउने प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ । आगामी वर्षमा राष्ट्रिय स्तरको वित्तीय संस्था बनाएर मलुकका सबै ग्रामिण क्षेत्रमा कार्यक्रम विस्तार गर्ने योजना बैंकको छ ।
हाल यस संस्थाले १४ शाखा कार्यालयबाट ५९ कर्मचारीमार्फत १० जिल्लाका १३ हजार चार सय ३३ ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थासँग ग्राहक सदस्यको १० करोड ९५ लाख रुपैयाँ बचत रहेको छ । त्यस्तै, यस संस्थाले ३८ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल कम्पनीको सञ्चालन दुई करोड ९३ लाख रुपैयाँ मुनाफामा रहेको छ ।


