सेयर बजारमा राजनीतिक अवस्थाको प्रभाव देखिन थालेको छ । ठूलो पहिरोपछि सम्हालिन लागेको सेयर बजार संविधान संशोधनको विधेयक संसदमा पेश भएसँगै पुनः ओरालो लाग्न थालेको हो । आइतबार नेप्से परिसूचक २९.५४ अंकले घटेर बन्द भएको छ । बजार खुलेको एक घण्टा पनि नपुग्दै १५७० अंकसम्ममा झरेको सेयर बजार साँढे १२ बजेभित्रमा १५८९ अंकसम्म उक्लियो । त्यसपछि क्रमशः ओरालो लागेको सेयर बजार तीन बजेसम्ममा १५७०.९५ अंकमा पुगेर रोकिएको छ ।
होटल र उत्पादनमूलक समूहबाहेक आइतबार कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह २७४.५६ अंकले घटेको छ भने जलसवद्युत् ४४.३८ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स र अन्य क्रमशः २६.०६, २५.३, १२.७५ र १२.१५ अंकले घटेका छन् । होटल र उत्पादनमूलक भने क्रमशः ५५.८१ र ५.४६ अंकले बढेका छन् ।
संविधान संशोधनको विरोधमा मुलुकभर विभिन्न स्थानमा आन्दोलन तथा प्रदर्शनहरु भइरहेका छन् । मुलुकको यो अवस्थाले सेयर लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारेको देखिएको छ । कारोबार रकममा उल्लेख्य सिगरावट आएको देखिएको छ । केही समययता एक अर्बमाथिको कारोबार भइरहेको बजारमा आइतबार पौने एक अर्बको मात्रै कारोबार भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको १० लाख ८० हजार छ सय ६७ कित्ता सेयर पाँच हजार ८९ पटक खरिदविक्री हुँदा कुल ७५ करोड ५३ लाख १८ हजार दुई सय ६१ रुपैयाँ पुँजी परिचालन भएको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा रहेको एभरेष्ट बैंकको पाँच करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ भने सिद्धार्थ बैंकको पाँच करोड ४८ लाख रुपैयाँ र मेगा बैंकको पाँच करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको चार करोड ९३ लाख रुपैयाँको कारोबार हुँदा तीन करोड ६२ लाख रुपैयाँ बराबरको सिटिजन्स बैंकको प्रोमोटर सेयरको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको दुई करोड ७० लाख र नेपाल बंगलादेश बैंकको दुई करोड सात लाख रुपैयाँको कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्सको पौने दुई करोडको कारोबारा भएको छ भने नेपाल एसबिआई बैंकको दुई करोड ७१ लाख र नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।
बजार घट्दा पनि हाम्रो विकास बैंक, अरुण फाइनान्स र जेविल्स फाइनान्सका सेयरधनीले राम्रो कमाई गरेका छन् । हाम्रो विकास बैंकको सेयरमूल्य ९.८४ प्रतिशतले बढेको छ भने अरुण र जेविल्स फाइनान्सको सेयरमूलय ९.७७ प्रतिशतले बढेको छ । यसबाहेक, वेस्टर्न डेभलपमेन्ट बैंकका सेयरधनीले ५.४३ प्रतिशत र सिनर्जी फाइनान्सका सेयरधनीले ५.१० प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल, नमस्ते वित्तीय संस्था, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १, रिडी हाइड्रो, अपि पावर कम्पनी लगायतले पनि कमाएका छन् ।
आईएलएफसिओ माइक्रोफाइनान्सका सेयरधनीले ८ प्रतिशतका दरले सम्पत्ति घटाउँदा कालिका माइक्रोक्रेडिट, रिलायबल माइक्रोफाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक र डिप्रोक्स डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ७.६१, ६.८८, ६.१९, ६.१७ र ६ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, सांग्रिला डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।




