२०८१ मंसिर ५ गते

३ महिनामा थप पौने १६ अर्ब सेयर लोन प्रवाह

बैंकिङ खबर/चालु आर्थिक वर्षको ३ महिना (साउन–असोज)सम्म बैंकहरुबाट थप पौने १६ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ३ महिनामा बैंकहरुबाट १ खर्ब ५ अर्ब ८२ करोड ४८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो।

यो हिसाबले चालु आर्थिक वर्षको ३ महिनामा बैंकहरुबाट थप १५ अर्ब ७३ करोड १९ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। असारको तुलनामा असोजसम्म १७.४६ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।

असोजसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ६९ अर्ब ९७ करोड १ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग २५.१ प्रतिशतले बढेको छ।

यसैगरी असोजसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ८७ करोड रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ३९ करोड १५ लाख रुपैयाँ गएको छ।

असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

गत असारको तुलनामा असोजसम्मको ३ महिनामा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ९.४ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ३.१ प्रतिशत र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा १.१ प्रतिशतले बढेको छ।