रुकुम जिल्लामा प्रभु बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले ग्प् ब्ष्म “सक्षम” को सहकार्यमा शुक्रबारदेखि रुकुम जिल्लाको रुकुमकोट गा.वि.स. वडा नं.६ मा नयाँ शाखा विस्तार गरेको हो । भु.पु. आपुर्ति मन्त्री तथा सभासद गणेशमान पुनले एक समारोहका बिच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । यससँगै, उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल र सहज रुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
प्रभु बैंक र यूकेएड सक्षमबिच दुर्गम भेगमा वित्तीय पहुँच विस्तार गर्नेसम्बन्धि सम्झौता भएको थियो । मनाङ, रुकुम र अछाम जिल्लाका महिला, पिछडिएका र ग्रामीण तथा विपन्न वर्गका जनतालाई वित्तीय पहुँचमा ल्याउनका लागि गरिएको उक्त सम्झौता बमोजिम अछाम जिल्लामा विहीबार शाखा विस्तार गरिएको थियो । रुकुमको यस शाखा सञ्चालनपछि अब प्रभु बैंकले मनाङ जिल्लाको चामेमा शाखा विस्तार गर्नेछ । यसबाहेक १५ वटा शाखारहित बैंकिङ सेवाका माध्यमबाट यी क्षेत्रका जनतालाई वित्तीय पहुँचमा समेट्ने बैंकले जनाएको छ । साथै, यी जिल्लामा मोबाइल बैंकिङ र एटीएम सेवाको समेत सुरुवात गर्नेछ ।
मध्य र सुदुपश्चिमका आधाभन्दा बढी जनसंख्या सहज वित्तीय पहुँचमा नरहेको तथ्यलाई मध्यनजर गर्दै सक्षमसँग मिलेर प्रभु बैंकले वित्तीय पहुँचमा रहेको असन्तुलनलाई कम गर्ने लक्ष्य लिएको छ । प्रभु बैंकको यस कार्यमा सक्षमले प्राविधिक र वित्तीय सहयोग गर्नेछ ।
