गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सबैभन्दा बढी विप्रेषण भित्र्याउने गाविसमध्येमा पर्दछ । गाविसको एउटै वडाका विभिन्न मुलुकको वैदेशिक रोजगारीका लागि चार सय जनाभन्दा बढी युवा गएको पुष्टि भएको छ । उनीहरुबाट ती मुलुकमा हुने गरेको न्यूनतम तलब आम्दानी जोड्दा पनि झन्डै साढे चार करोड आम्दानी एकै महिनामा हुने गरेको छ । वामी–९ अन्तरराष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलुकमा रहेका वामी–९ का युवाको सङ्ख्या पाँच सय ४५ जनाको तथ्याङ्क निकालेको छ ।
वामी–९ का युवाको वैदेशिक रोजगारको यात्रा करीब २० वर्षअघि जापानबाट सुरु भएको थियो । सो वडा नम्बर ९, टोड्केका वोमबहादुर रायमाझीका छोरा लेखबहादुर रायमाझी र सोही वडा भेडुवाबाट काठमाडौँ बसाइँसराइ गरेका खिमबहादुर खरालका छोरा योगेन्द्र खराल आजभन्दा १८ वर्षअघि जापान एकै साथ पुगेका थिए । उनीहरु पुगेपछि त्यहाँका युवाको लर्को त्यसतर्फ लाग्न थाल्यो । अहिले वडा नं ९ बाट दुईसय महिला र पुरुष जापानमा पुगेको वामी–९ अन्तरराष्ट्रिय सम्पर्क समितिका केन्द्रीय अध्यक्ष दिलीप थापाले जानकारी दिए । यसरी ती दुईसय जनाबाट न्यूनतम मासिक रू. एक लाखका दरले हिसाब गर्दा पनि एकै महीनामा दुई करोड त्यहाँ पुगेका युवाले कमाउने गरेका छन् ।
कहाँबाट कति भित्रिन्छ ?
अस्ट्रेलियामा १० जना पुगेका छन् । उनीहरुबाट न्यूनतम एक लाख रुपैयाँका दरले पनि महिनामा ५० लाख रुपैयाँ कमाई हुने गरेको छ । युकेमा ५० जना रहेका छन् । उनीहरुबाट न्यूनतम डेढ लाखका दरले ७५ लाख रुपैयाँ एकै महिनामा कमाई हुने गरेको स्पष्ट हुन्छ । अमेरिकामा १० जना रहेका छन् । उनीहरुबाट न्यूनतम एक लाख रुपैयाँका दरले मासिक १० लाख रुपैयाँ कमाई हुने अनुमान गरिएको छ । न्युजिल्याण्डमा ३५ जना छन् । उनीहरुबाट पनि मासिक एक लाख रुपैयाँका दरले न्यूनतम मासिक ३५ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । मलेसियासहितका खाडी मुलुकमा सय जना रहेका छन् । उनीहरुबाट न्यूनतम मासिक २५ हजार रुपैयाँका दरले २५ लाख रुपैयाँ कमाईको अनुमान गरिएको छ । त्यस्तै, भारतमा रहेका दुई सय जनाबाट न्यूनतम मासिक १० हजार रुपैयाँका दरले २० लाख रुपौयाँ कमाई हुने अनुमान गरिएको छ ।
यो तथ्याङ्कबाट अन्य सहरमा घर–घडेरी खरीद नगर्ने हो भने एउटै वडा नं ९ मा मात्रै मासिक चार करोड १५ लाख रुपैयाँ विप्रेषण रकम भित्रिन सक्ने देखिन्छ । स्वदेशमा शिक्षक, अन्य सरकारी र सङ्घसंस्थामा भएका जागिरे समेतको हिसाब गर्दा न्यूनतम मासिक पाँच करोड रुपैयाँ नगद कमाई हुने स्थलगत अध्ययनको तथ्याङ्कले देखाएको छ । रासस


