Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एक महिनामा सेयर बजारबाट २ अर्ब ५७ करोड पूँजीगत लाभकर संकलन

२०८१ आश्विन ७ गते

 

बैंकिङ खबर/ भदौ महिनामा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । समग्र बजार भदौ महिनामा मात्रै १४ प्रतिशत (४२० अंक) घटेको थियो । बजारमा आएको उच्च गिरावटका बाबजुत पूँजीगत लाभकर भने उल्लेख्य देखिन्छ ।

भदौमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको सीडीएस एण्ड क्लियरिङले जनाएको छ । व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् भने १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत तिर्दै आएका छन् ।

त्यस्तै कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरको पूँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको छ । बजार न्यूनम विन्दुमा रहेका बेला खरिद गरेकाले भदौ महिनामा बिक्री गरी नाफा बुक गर्दा सो पूँजीगत लाभकर उठेको हो ।

भदौमा उठेको पूँजीगत लाभकर साउनको तुलनामा भने ३९ प्रतिशत न्यून हो । साउन महिनामा मात्रै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो । एकै महिनामा संकलन भएको सो लाभकर हालसम्मकै उच्च हो । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।