Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन महिनामा डेढ लाखभन्दा धेरै घरजग्गा किनबेच

२०८१ श्रावण २७ गते


बैंकिङ खबर/ तीन महिनाको अवधि (वैशाख, जेठ र असार)मा एक लाख ५७ हजार घरजग्गा किनबेच भएका छन् । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा बढी हो ।

०८० को पहिलो तीन महिनामा एक लाख ४६ हजार ३०१ र ०७९ को पहिलो तीन महिनामा एक लाख ४६ हजार ३४१ घरजग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

घरजग्गा किनबेच बढेसँगै राजश्व असुली पनि बढेको छ । ०८१ को पहिलो तीन महिनामा देशभरका मालपोत कार्यालयले १३ अर्ब २२ करोड ६६ लाख रुपैयाँ राजश्व उठाउन सफल भएका छन्, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा करिव दुई अर्ब ९ करोड रुपैयाँले धेरै हो ।

०८० को पहिलो तीन महिनामा देशभरबाट ११ अर्ब १३ करोड ५१ लाख रुपैयाँ राजश्व उठेको विभागले जनाएको छ ।
यस वर्ष वैशाख महिनामा ४९ हजार ७८२ घरजग्गाको लिखत पारित हुँदा जेठमा ६१ हजार १६१ र असारमा ४६ हजार १७९ घरजग्गाको लिखत पारित भएका छन् ।

यस्तै, वैशाखमा तीन अर्ब ८६ करोड ६४ लाख रुपैयाँ राजश्व उठेकोमा जेठमा बढेर चार अर्ब ३३ करोड ९२ लाख र असारमा झनै बढेर पाँच अर्ब २३ करोड ६० लाख रुपैयाँ राजश्व उठेको विभागको तथ्यांक छ ।

यस वर्षको पहिलो तीन महिनामा चार लाख ३२ हजार १३४ कित्ताकाट भएका छन् भने एक लाख १३ हजार ९१६ घरजग्गा रोक्का हुँदा ८८ हजार ९५७ घरजग्गा फुकुवा भएको देखिन्छ ।

यस्तै, तीन महिनाको अवधिमा कुल १२९ युनिट अपार्टमेन्ट किनबेच भएको छन् । वैशाखमा २८, जेठमा ३० र असारमा ७१ युनिट अपार्टमेन्ट किनेबच भएको छ ।