Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जेठ महिनामा साढे १५ अर्ब भन्दा बढी रियल इस्टेट कर्जा प्रवाह

२०८१ असार २७ गते

बैंकिङ खबर/ आर्थिक वर्षको अन्तिमतिर जेठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले रियल इस्टेट शिर्षकमा प्रवाह गर्ने कर्जा बढेको छ । जेठमा साढे १५ अर्ब रुपैयाँ भन्दा बढी रियल इस्टेट कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा रियल इस्टेट शिर्षकको कर्जा चार अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक थियो । तर, जेठमा आइपुग्दा यस्तो कर्जा १० अर्ब ७४ करोड रुपैयाँ धनात्मक देखिएको छ । अर्थात् ११ महिनाको अवधिमा रियल इस्टेट कर्जा ४.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकको नयाँ कर्जा लगानी भन्दा पुरानो कर्जा असुली धेरै भएमा समग्रमा कर्जाको वृद्धिदर ऋणात्मक देखिन्छ ।

रियल इस्टेट शिर्षकतर्फ ११ महिनामा रेसिडेन्सियल रियल इस्टेट (दुई करोडसम्मको व्यक्तिगत आवासीय कर्जा) १४ अर्ब ६ करोड रुपैयाँ प्रवाह भएको छ । यस्तै, कमर्सियल कम्पलेक्स एन्ड रेसिडेन्सियल अपार्ट निर्माणका लागि एक अर्ब १९ करोड, जग्गा खरिद तथा प्लटिङमा चार अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

आम्दानी सिर्जना हुने कमर्सियल कम्पलेक्समा एक अर्ब ९८ करोड रुपैयाँ, ५० लाख वा सो भन्दा बढीको विशेष प्रपोज बिनाको कर्जा तीन अर्ब ३८ करोड र रियल इस्टेट सम्बन्धि अन्य प्रपोजमा प्रवाह हुने कर्जा तीन अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक देखिएको छ । अर्थात्, उल्लेखित शिर्षकमा नयाँ कर्जा प्रवाह भन्दा पुरानो कर्जा असुली धेरै भएको देखियो ।

जेठमा रियल इस्टेट शिर्षकमा कर्जा लगानी बढ्दा व्यक्तिगत आवासीय कर्जा शिर्षकमा प्रवाह हुने कर्जा भने घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा व्यक्तिगत आवासीय कर्जा ४१ अर्ब २० करोड रुपैयाँ थपिएकोमा ११ महिनामा उल्टै घटेर ३७ अर्ब २९ करोड रुपैयाँमा सिमित बनेको छ । अर्थात्, जेठमा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत रियल इस्टेट शिर्षकमा पुरानो कर्जा धेरै ठूलो परिमाणमा असुली गरेका छन् ।