Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपालमा रहेको भारु साट्ने भारतको ‘संकेत’ : कार्यविधि बनाउन गृहकार्य सुरु 

२०७३ मंसिर २ गते

indian-currencyभारतले नेपालमा भएको भारतीय रुपैयाँ (भारु) साट्ने संकेत गरेको छ । त्यसका लागि त्यहाँको सरकारले बुधबार पाँच सय र हजार दरका भारतीय रुपैयाँ साट्ने सम्बन्धमा अध्ययन गर्न एक कार्यदल पनि गठन गरिसकेको छ । कार्यदल गठन भएसँगै भारतले नेपालमा रहेका पाँच सय र हजार दरका भारु नोट साट्ने प्रक्रिया अघि बढाएको हो । 

भारत सरकारले गत साताको मंगलबार पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाउनेवित्तिकै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले भारु सटहीका लागि विशेष सक्रियता देखाएका थिए । भारत सरकारले त्यहाँको ठूला दरका भारु नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेको भोलिपल्टै राष्ट्र बैंकले सटही सुविधाका लागि भारतीय पक्षलाई पत्र पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारतीय समकक्षी नरेन्द्र मोदीसँग फोनवार्ता गरी भारु नोट सटही व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । प्रधानमन्त्री र गभर्नरको निरन्तरको सक्रियताको कारण भारतले भारतीय ठूला दरका नोट प्रतिबन्ध लगाएको एक सातापछि नेपालमा भएका भारुलाई पुनः वैधानिकता दिने संकेत गरेको हो । 

भारत सरकारले भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को नेतृत्वमा कार्यदल बनाएको छ । भारतीय वित्त मन्त्रालयको समेत सहभागिता रहेको कार्यदलले नेपाल र भुटानमा रहेका भारु साट्ने बारेमा आवश्यक अध्ययन अनुसन्धान गरी कार्यविधि तयार गर्ने बताइएको छ । यसैका आधारमा कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ । 

बुधबार आरबीआईका गभर्नर उर्जित पटेलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. नेपालसँग नोटको समस्या समाधान गर्न वित्त मन्त्रालयको समेत संलग्नतामा कार्यदल बनेको जानकारी गराइसकेका छन् । टेलिफोन वार्ताका क्रममा पटेलले हाल उब्जिएका समस्या अब छिट्टै समाधान हुने बताएका थिए । गभर्नर नेपालले बुधबारै भारतीय राजदूत रणजित रायसँग नेपालमा रहेको भारतीय नोट सटही सुविधाको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

गत साताको मंगलबार राति भारतीय सरकारले पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि बुधबारदेखि नेपाल राष्ट्र बैंकले पनि सर्कुलर जारी गरी भारतीय नोट नसाट्न र नचलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

कालोधन, आतंकवाद र नक्कली नोटलाई निरुत्साहित गर्न भन्दै गतसाता भारतीय प्रधानमन्त्री मोदीले ५ सय र १ हजार भारु नोटमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । भारतले उक्त दरका नोटमा प्रतिबन्ध लगाएको भोलिपल्टै नेपालीसँग भएको भारु सटहीका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकले पत्र पठाएको एक सातापछि अध्ययन कार्यदल गठन भएको हो । 

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीअन्तर्गत ३ करोड ३६ लाख ९० हजार भारु रहेको बताए पनि सीमा क्षेत्रका नेपालीसँग त्यो भन्दा पाँच गुणा बढी भारु रहेको ठानिएको छ । सुदुरपश्चिममा मात्रै पाँच अर्बभन्दा बढी भारु रहेको अनुमान गरिएको छ ।