सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसअघि नै २४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको बैंकले बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीबाट ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
उक्त हकप्रद पारित गर्नका लागि बैंकले आगामी मंसिर २४ गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभा प्रयोजनका लागि मंसिर ९ गतेदेखि २४ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने बैंकले जनाएको छ ।
हाल सिद्धार्थको चुक्तापुँजी एक अर्ब १४ करोड ४४ लाख ९० हजार रुपैयाँ छ । २४ प्रतिशत बोनस सेयर जारी गरेपछि बैंकको पुँजी एक अर्ब ४१ करोड ९१ लाख ६७ हजार छ सय रुपैयाँ पुग्नेछ । उक्त पुँजीबाट ६० प्रतिशत हकप्रद सेयर जारी गर्दा बैंकको पुँजी दुई अर्ब २७ करोड छ लाख ६८ हजार दुई सय रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशनअनुसार सिद्धार्थले असार मसान्तसम्ममा चुक्तापुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्नेछ ।


